१ कार्तिक २०८३, शनिबार

अब पाँच हजारमै धनगढी-काठमाडौं हवाई सेवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Airlinesधनगढी, ९ कात्तिक । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन धनगढी–काठमाडौँ हवाई सेवा सुरु गरेको छ ।

जहाज अभावका कारण धनगढी–काठमाडौँ हवाई सेवा नियमित गर्न नसकिरहेको निगमले केही दिनअघिदेखि आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार हवाई सेवा सुरु गरेको हो ।

जहाज नभएकाले धनगढी-काठमाडौँको हवाई सेवा नियमित बनाउन भने कहिलेकाहीँ समस्या हुने गरेको निगमको धनगढीस्थित कार्यालयका प्रमुख कुलप्रसाद ओझाले बताउनुभयो ।

‘ट्रङ्क रुट‘ अर्थात् तराई क्षेत्रका विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न ठूलो विमान निगमसँग एउटै मात्र भएकाले धनगढी–काठमाडौँको उडान कहिलेकाहीँ रद्द गर्नुपर्ने अवस्था आउने गरेको बताइएको छ ।

‘ट्रङ्क रुट’मा चल्ने निगमको यो एउटै विमानबाट तराई क्षेत्रका विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीबाट हवाई सेवा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ ।

धनगढी विमानस्थलवाट नेपाल वायुसेवा निगमबाहेक निजी क्षेत्रको बुद्ध एअर र यती एअरलायन्सले हवाई सेवा सञ्चालन गर्दै आएको छ । बुद्ध एअरले दैनिक सेवा उपलब्ध गराइरहेको छ भने यती एअरलायन्सले हप्तामा तीन दिन सेवा उपलब्ध गराउँदै आएको छ ।

हवाई भाडा दर फरकफरक:

धनगढी । काठमाडौँको हवाई भाडादर निजी क्षेत्रका विमानको भाडादरको तुलनामा नेपाल वायु सेवाको भाडा दर केही सस्तो रहेको छ ।

नेपाल वायु सेवाको धनगढी–काठमाडौँको भाडादर प्रतियात्रु रु पाँच हजार ६५५, रु छ हजार २५५ र आठ हजार ४६५ गरी तीन प्रकारको कायम गरिएको छ । अग्रिम टिकट लिनेले सस्तो अर्थात् रु पाँच हजार ६५५ मा उड्न पाउने गरेको बताइएको छ ।

यता निजी विमानको भाडा दरमा एकरुपता भए पनि दर भने सात प्रकारको निर्धारण गरिएको छ । कसले कति सस्तोमा टिकट दिन सक्छ भन्ने प्रतिस्पर्धा दुई एअरलायन्सबीच हुने गरेकाले सात प्रकारको भाडा दर कायम भएको यती एअरलायन्सका गजेन्द्र शाहीले बताउनुभयो ।

यी निजी विमानले धनगढी-काठमाडौँको हवाई भाडा दर प्रतियात्रु रु पाँच हजार ७२५ देखि रु ११ हजार ३४० सम्म सात प्रकारको निर्धारण गरेका छन् । रासस