१ कार्तिक २०८३, शनिबार

राजधानीको ठमेलका होटलमा यसरी पल्किए पर्यटक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dance-bar-thamel

– सिबी अधिकारी

काठमाडौँ, ९ कात्तिक । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहितका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

पर्यटकीय याम सुरु भएसँगै ठमेल, वसन्तपुर दरबार क्षेत्रलगायतका पर्यटकीय तथा सांस्कृतिक स्थलहरुमा पर्यटकको सङ्ख्या बढेको देखिएको छ ।

ती क्षेत्रमा खासगरी पश्चिमा मुलुकका पर्यटक बढी मात्रामा देखिएका छन् । आवागमनमा समस्या भएपनि अहिले बेलायत, अमेरिका, जापान तथा चीनबाट पर्यटकहरु नेपाल भ्रमणमा आएका छन् ।

पर्यटकको चहल पहल बढेसँगै ठमेलको व्यापारमा वृद्धि भएको छ । ठमेलमा विगत २० वर्षदेखि व्यवसाय गर्दै आउनुभएका कृष्णहरि घिमिरेले पर्यटक बढेसँगै व्यापारमा वृद्धि भएको बताउनुभयो ।

ठमेल क्षेत्रमा यती, एभरेष्ट, ठमेल आउटडोरलगायत पाँचवटा कम्पनी सञ्चालन गरिरहनुभएका घिमिरेले दैनिक डेढ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको बताउनुभयो ।

गत वर्ष यही समयमा दैनिक रु चार लाखसम्मका व्यापार गरेको अनुभव सुनाउने उहाँले यो पटक भूकम्प र नाकाबन्दीले पर्यटक कम आएपनि अहिले पर्यटक ओइरिने ‘सिजन’सँगै क्रमिक रुपमा व्यापार बढेको बताउनुभयो ।

विगत १० वर्षदेखि ट्रेकिङ फलोवर कम्पनीमार्फत पर्यटकका सामान बिक्री गर्दै आउनुभएका केदार तिमल्सिनाले दैनिक दुईसयको हाराहारीमा पर्यटक आउने गरेको र दैनिक ८० हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताउनुभयो ।

ठमेलकै अर्का व्यवसायी नवराज न्यौपानेले यो याममा पर्यटक आगमन बाक्लिएसँगै व्यापार पनि राम्रो भएको बताउनुभयो । ठमेलमा अहिले हजारौँको सङ्ख्यामा पर्यटक भित्रिएका छन् । ठमेलका सडक र गल्लीमा पर्यटकको भीडभाड देखिन्छ भने होटल तथा रेस्टुराँ र पसलमा पर्यटकको चहलपहल बढेको छ ।

ठमेल इको रिसोर्टका प्रवन्ध निर्देशक मोहन लम्सालले भूकम्प गएको पाँच महिनापछि अहिले पर्यटक आगमनमा वृद्धि भएको र होटल पनि भरिभराउ हुन थालेको बताउनुभयो ।

मकालु एडभेन्चरका सञ्चालकसमेत रहेका लम्सालका अनुसार यो याममा पदयात्रा गर्ने विदेशीहरु बढी मात्रामा आउँछन् । ठमेलका स्पा व्यवसायी भवी शर्माले पनि पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएकामा सन्तोष प्रकट गर्नुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले दैनिक हजारौँको सङ्ख्यामा पर्यटक ठमेल घुम्न आउने गरेको बताउनुभयो ।
महत्वपूर्ण पर्यटकीय स्थल वसन्तपुर क्षेत्रमा पनि पर्यटकको आगमनमा वृद्धि भएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका सिफ्ट इन्चार्ज सुन्दर प्रजापतिका अनुसार अहिले दैनिक चारसयको हाराहारीमा विदेशी पर्यटक दरबार क्षेत्रमा घुम्न आउने गरेका छन् ।

संरक्षण कार्यक्रमबाट उपलब्ध गराइएको विवरण अनुसार असोज महिनाभर सार्क मुलुकबाट ४१७ र अन्य मुलुकबाट आठ हजार १४६ पर्यटक भित्रिएका छन् ।

गत वैशाखमा गएको भूकम्प र त्यसको केही महिनापछि भारतबाट अघोषित नाकाबन्दी भई जनजीवन कष्टकर बनेको भएपनि नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या क्रमिक रुपमा बढेर गएको छ । रासस