कञ्चनपुर, ३ कात्तिक । कञ्चनपुरका कुखुरापालकहरु लागत मूल्य नपाउँदा उत्पादित ब्रोइलर कुखुरा सस्तोमै बेच्न बाध्य छन् ।
खरिदकर्ताले लागत मूल्य नै नउठ्ने गरी मनोमानी तरिकाले कुखुराको मूल्य तोकी खरिद गर्न थालेपछि कुखुरापालक मर्कामा परेका हुन् ।
चल्ला खरिद गर्दादेखि हुर्काउँदासम्म लागत खर्च जिउँदो कुखुराको प्रति किलो रु १८० सम्म पर्न आउँछ । कुखुरापालक हकहित समितिका सदस्य टेकबहादुर भण्डारीले भन्नुभयो – “खरिदकर्ताले जिउँदो कुखुराको मूल्य आफूखुसी प्रतिकिलो रु १०० भन्दा कम तोकी खरिद गर्दै आएकाले मर्कामा परेका छौँ ।”
प्रतिब्रोइलर कुखुराका चल्ला खरिदका लागि रु ६० तिर्नुपर्ने, कुखुरा हुर्काउँदासम्म एक कुखुराले रु २४० सम्मको दाना खाने र औषधोपचार रु ३० र मेहनत गरी एउटै कुखुरा उत्पादन गर्न रु ३०० भन्दा बढी खर्च लाग्ने गरेको उहाँले बताउनुभयो ।
कुखुराको लागत मूल्य नै नपाइने भएपछि धेरै व्यवसायी व्यवसाय नै छाड्ने अवस्थामा पुगेको समितिका अध्यक्ष राजेन्द्र ऐरले बताउनुभयो । “सिन्डिकेट खडा गरी खरिदकर्ताले आफैँले मूल्य तोकेर कुखुरा खरिद गर्न थालेपछि यसविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो ।
कुखुरा खरिद बिक्रीका लागि सरकारी नीति नियम नहुँदासमेत खरिदकर्ताको मनोमानी बढेको कुखुरापालकको भनाइ रहेको छ । खरिदकर्ताले सस्तोमै खरिद गरिएको कुखुराको मासु प्रतिकिलो रु २८० देखि रु ३०० किलोका हिसाबले उपभोक्तालाई बेच्दै आएका छन् ।
जिल्लामा १८० वटा फ्रेस हाउसमा विगतमा कुखुरापालन हँुदै आएकामा अहिले त्यो सङ्ख्या बढेर ३०० पुगेको छ । पशुसेवा कार्यालय कञ्चनपुरका अनुसार यहाँ वार्षिकरुपमा झन्डै ८० हजार किलोभन्दा बढी ब्रोइलर कुखुराको मासु खपत हुने गरेको छ । खपत नभएको कुुखुरा जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । रासस















प्रतिक्रिया