पर्सा, २ कात्तिक । सधैँ वहनको लामो लाम र गोलदाम भरिभराउ रहने वीरगन्ज भन्सार हाल पूरै खाली भएको छ । मधेस केन्द्रित दलको बन्द हडताल र नाकाबन्दीका कारण विगत दुई महिनादेखि नेपालका लागि वीरगन्ज नाकाबाट हुने आयातनिर्यात अवरुद्ध भएपछि नेपालको प्रमुख नाका वीरगन्ज भन्सारको यार्ड पूरै खाली भएको हो ।
संविधान संशोधन र सीमाङ्कनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भदौ ३० गतेदेखि बन्द हडताल र असोज ७ गतेदेखि नाकाबन्दी गरेपछि नेपालका लागि भारत तथा तेस्रो मुलुकबाट आयात हुन नसकेपछि भन्सार यार्ड पूरै खाली भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले जानकारी दिनुभयो ।
दलले नाकाबन्दी गर्नुअघि भारत तथा तेस्रोे मुलुकबाट आयात गरिएका मालवस्तु प्रहरी सुरक्षामा गन्तव्यतर्फ पठाएपछि भन्सार यार्ड हाल पूरै खाली भएको सूचना अधिकृत शर्माले बताउनुभयो ।
वीरगन्जको मितेरी पुलमा मधेस केन्द्रित दलका नेता कार्यकर्ता चौबिसै घन्टा धर्ना बसेपछि आयातनिर्यात पूर्णरुपमै ठप्प भएपछि यसको नकारात्मक प्रभाव जनजीवनसँगै भन्सारको राजस्व असुलीमा सोझै परेको सूचना अधिकृत शर्माले बताउनुभयो ।
मोर्चाले आह्वान गरेको बन्द हडताल र नाकाबन्दीका कारण दुई महिनामा रु ११ अर्ब राजस्व वीरगन्ज भन्सारको अवरुद्ध भएको छ । बन्द हडताल र नाकाबन्दीका कारण वीरगन्ज भन्सार कार्यालयको भदौ र असोजमा मात्र रु १० अर्ब ८८ करोड राजस्व असुली प्रभावित भएको सूचना अधिकृत शर्माले जानकारी दिनुभयो । भन्सार कार्यालयलाई भदौमा रु चार अर्ब ९१ करोड र असोजमा पाँच अर्ब ९७ करोड अवरुद्ध भएको भन्सारले जनाएको छ ।
भन्सार विभागले भदौमा रु आठ अर्ब ८२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा भन्सार कार्यालयले लक्ष्यको ३९ प्रतिशत अर्थात् रु एक अर्ब ९९ करोड मात्र असुली गरेको छ । यस्तै असोज महिनामा विभागले रु सात अर्ब ७८ करोड राजस्व सङ्कलन गर्न लक्ष्य दिएकामा भन्सार कार्यालयले लक्ष्यको २५ प्रतिशत अर्थात् रु एक अर्ब ९९ करोड मात्र राजस्व असुली गरेको सूचना अधिकृत शर्माले जानकारी दिनुभयो ।
वीरगन्ज रक्सौल नाकामा मधेसी दलले नाकाबन्दी गरेयता कार्यालयको दैनिक राजस्व असुली दर औसतमा रु २० देखि २२ हजारमा झरेको सूचना अधिकृत शर्माले बताउनुभयो ।
सीमा नाकामा आन्दोलनकारीले नाकाबन्दी गरेका कारण भारत फर्कन लागेका खाली गाडी सीमा पारी जान नसकेपछि भन्सार यार्डमा थन्किएर बसेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताउनुभयो ।
उहाँले दुई महिनाको बन्दका कारण राजस्व असुलीमा आएको कमीले आर्थिक वर्षकै राजस्व सङ्कलनको लक्ष्यसमेतलाई प्रभावित गर्ने दाबी गर्नुभयो । रासस















प्रतिक्रिया