मुस्ताङ, २ कात्तिक । मुस्ताङको पर्यटकीय गन्तव्य लोमान्थाङमा नौ महिनाको अवधिमा दुई हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
सन् २०१५ को नौ महिनाको अवधिमा माटोले निर्मित लोमान्थाङ उपत्यका, मुस्ताङ्गी राजदरबार, कला संस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन दुई हजार ३९ जना पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
लोमान्थाङ भित्रिने मुख्य नाका कागबेनी र लोमान्थाङ क्षेत्रबाट एक्यापले दैनिकरुपमा पर्यटकको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । नौ महिनाको अवधिमा गत वर्षभन्दा न्यून पर्यटक भित्रिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनवरीमा १२, फेबु्रअरीमा आठ, मार्चमा १८८, अप्रिलमा ३४१, मेमा ६९, जुनमा ३०, जुलाईमा ११५, अगस्तमा ३१८, सेप्टेम्बरमा ४१८ र अक्टोबरको पहिलो सातासम्म ५३९ पर्यटक भित्रिएका छन् । लोमान्थाङ भित्रिने पर्यटकमध्ये अधिकांश जर्मनी, फ्रान्स र नेदरल्यान्डमा रहेको एक्यापले जनाएको छ ।
गत वैशाख १२ र २९ गतेको भूकम्प र पछिल्लो समय देखिएको बन्द–हडतालका कारण अनुमान गरेअनुरुप पर्यटक आउन नसकेको लोमान्थाङका पर्यटन व्यवसायीले बताएका छन् ।
उपल्लो मुस्ताङमा चिसो बढेका कारण पर्यटकको सङ्ख्यासमेत घट्दै गएको बताइएको छ । “अक्टोबर महिना मात्रै यहाँ पर्यटक आउँछन्, त्यसपछि त सुनसान हो,”, प्रमुख शेरचनले भन्नुभयो । सन् २०१४ मा लोमान्थाङमा चार हजार २०० पर्यटकले भ्रमण गरेका थिए । रासस















प्रतिक्रिया