काठमाडौं, १ कात्तिक । एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको चाहना उपाध्यक्ष विद्या भण्डारीलाई शीतलनिवास पुर्याउने छ ।
एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउनुपर्ने अवस्था आएमा भण्डारी नै उम्मेदवार हुने उनले दाबी गरे ।
यसले सबैभन्दा ठूलो चोट वरिष्ठ नेता झलनाथ खनाललाई परेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
पार्टीको नवौँ महाधिवेशनका वेला ओलीले खनाललाई राष्ट्रपति बनाउने वचन दिएका कारण उनी पनि राष्ट्रपतिको लाइनमा रहेको एमाले स्रोतले बतायो ।
यद्यपि उनले एमालेका केही सांसदसँगको अनौपचारिक कुराकानीमा आफू एकचोटि फेरि मुलुकको कार्यकारी हुने चाहना भएकाले राष्ट्रपतिमा इच्छा नभएको बताउने गरेका छन् ।
चार वर्षपछि हुने पार्टीको दशौँ महाधिवेशनलाई केन्द्रमा राखेर पनि एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको खोजी हुने गरेको छ ।
नेता माधवकुमार नेपाल दशौँ महाधिवेशनमा अध्यक्ष बन्ने कसरतमा छन् ।
अहिलेकै अवस्थामा यो दौडमा उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलसमेत छन् । त्यसैले नेपालले एमाले पदाधिकारी बैठकमै आफू राष्ट्रपति नबन्ने प्रस्ट पारिसकेका छन् ।
नेता नेपालले शनिबार एक कार्यक्रममा कांग्रेसले प्रधानमन्त्री निर्वाचनमा गरेको गल्ती स्वीकार गरेर आए उसलाई राष्ट्रपति दिन सकिने र नआए महिलालाई बनाउनुपर्ने भन्दै भण्डारीप्रति संकेत गरिसकेका छन् ।
दशौँ महाधिवेशनमा अध्यक्ष बन्ने दौडमा रहेका महासचिव पोखरेलले बाटो क्लियर गर्न पार्टी शीर्ष नेताको बैठकमा राष्ट्रपतिमा नेता नेपालको नाम प्रस्ताव गरिसकेका छन् । पोखरेलको चाहना भण्डारीभन्दा नेपाललाई राष्ट्रपति बनाउने छ ।
उपाध्यक्ष भण्डारीले कांग्रेसलाई कुनै हालतमा राष्ट्रपति दिन नसकिने भन्दै पार्टीले आवश्यक ठाने आफू राष्ट्रपतिका लागि तयार भएको बताइसकेकी छिन् ।
नवौँ महाधिवेशनमा नेता नेपालको पक्षमा लागेका र त्यही पक्षबाट जितेका पदाधिकारीको चाहना नेता नेपाल राष्ट्रपतिका लागि तयार नहुन् भन्ने छ ।
उनी राष्ट्रपति भए समूह हाँक्ने नेता नै नहुने र अर्को महाधिवेशनमा आफूहरूको अवस्था कमजोर हुनसक्ने डर ती पदाधिकारीहरूलाई छ ।
स्थायी कमिटीका एक सदस्यले भने एमालेले राष्ट्रपति पाउने अवस्था आए सुवासचन्द्र नेम्वाङलाई बनाउनुपर्ने बताए ।
जनजाति भएको र संविधानसभाबाट संविधान दिन सफल सभाध्यक्ष भएकाले पनि उनलाई बनाउनुपर्ने ती पदाधिकारीको तर्क छ ।















प्रतिक्रिया