काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको छैटौं दिन ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट सरकारी निवास बालुवाटार सरेका हुन् । ‘प्रधानमन्त्रीज्यू शुक्रबारबाट सरकारी निवास बालुवाटार सर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।
त्यसक्रममा ओलीलाई काठमाडौँ-५ का जनताको तर्फबाट एमाले महासचिव ईश्वर पोखरलले भव्य स्वागत गरेका थिए । निवास सर्ने क्रममा साइत हेर्ने तथा कुनै परम्परागत धार्मिक अनुष्ठानका कार्यक्रम नगरिएको सल्लाहकार दाहालले जानकारी दिए । विगतमा भने साइत जुराएर तथा धार्मिक अनुष्ठानपूर्वक पूजाआजा गरी कालोबोका बलि दिएर प्रधानमन्त्री सरकारी निवास सर्ने चलन थियो ।
ओलीले ती सबै परम्परा तोडेका हुन् । यसअघि प्रधानमन्त्री बनेका एमाले पूर्व अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव कुमार नेपाल समेत साइत हेरेरै मात्र बालुवाटार सरेका थिए । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया