काठमाडौँ, ३० असोज । नेपाल वायुसेवा निगमको एयरबस ए ३२०–२०० सिरिजको जहाजमा क्याटरिङको गाडीले ठक्कर दिएपछि उडान स्थगित भएको छ ।
हङ्कङ विमानस्थलबाट काठमाडौँका लागि उड्ने तयारीमा रहेको सो जहाजलाई खाना बोक्ने क्याटरिङको गाडीले ठक्कर दिएको थियो ।
आज साँझ स्थानीय समयअनुसार १९.०५ मा काठमाडौँका लागि उड्ने तालिका थियो । जहाजको पछाडिको भागमा क्याटरिङको गाडीले ठक्कर दिएको र उडानमा समस्या पैदा भएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिनुभयो ।
क्याप्टेन विजय लामाले जहाज उडाउन लाग्दा समस्या देखिएको पत्ता लागेपछि जहाज हङ्कङ विमानस्थलमा ग्राउन्डेड भएको छ । कति क्षति भएको हो र मर्मत गर्न कति समय लाग्छ भन्ने बारेमा अध्ययनपछि मात्रै पत्ता लाग्ने प्रवक्ता शर्माको भनाइ छ ।
“जहाज उडेको भए ठूलो दुर्घटना हुनसक्ने थियो धन्न जोगियो, हामी चाँडै नै मर्मत गरेर उडाउँछौँ ।” प्रवक्ता शर्माले भन्नुभयो । दसैँ मान्न विभिन्न गन्तव्यबाट घर फर्कन चाहने यात्रुका लागि भने जहाज ग्राउन्डेड भएपछि समस्या पैदा भएको छ ।
जहाज ग्राउन्डेड भएपनि यात्रु भने सकुशल रहेको प्रवक्ता शर्माले बताउनुभयो । रासस















प्रतिक्रिया