खोटाङ, ३० असोज । जिल्लाको दक्षिणी गाविस डम्बर्खु शिवालय–२ का ४७ वर्षीय श्रीकृष्ण राई मृत फेला परेका छन् । गत बिहीबार बेलुकादेखि सम्पर्कविहीन बनेका राई शनिबार मृत फेला परेका हुन् ।
तीन दिनदेखि सम्पर्कविहीन बनेका राईको खोजी गर्ने क्रममा सोही वडाको सिन्दूरे भिरको फेदमा मृत भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् ।
घटनाको प्रकृति हेर्दा राईको हत्या गरेर फालिएको हुनसक्ने इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।
गाउँमा झगडा भएकै दिनदेखि राई बेपत्ता भएकाले उनको हत्या भएको स्थानीयवासीले दाबी गरेका छन् । मृत फेला परेका राईको शरीरको विभिन्न ठाउँमा धारिलो हतियारको चोट देखिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
“राईको हत्या नै गरिएको प्रमाणित हुँदै गएको छ ।” निरीक्षक दाहालले भन्नुभयो, “घटनाका विषयमा अनुसन्धान गर्न एकजनालाई नियन्त्रणमा लिइएको छ ।”
राईको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया