टीकापुर, ३० असोज । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य डा. विजय पौडेलले नेपालको संविधान संसारकै वैज्ञानिक, समावेशी र प्रगतिशील भएको दाबी गर्नु भएको छ ।
गत भदौ ७ गतेको टीकापुर घटना र संविधान जारी भएपछि शनिवार पहिलो पटक टीकापुरमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै डा. पौडेलले आफूले संसारका धेरै संविधान पढेको बताउदै ती मध्ये सबैभन्दा वैज्ञानिक संविधान नेपालको भएको बताउनुभयो ।
‘जन्मिदै बच्चा पनि ठूलो हुँदैन त्यसैले यो संविधानका केही गल्ति भए सच्चाउने व्यवस्था पनि छ,’ एमाले कैलाली क्षेत्र नम्वर १ ले टीकापुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उहाँले भन्नुभयो । नेपाल, भारत, चीन, अमेरिका लगायतका संविधानको तुलनात्मक अध्ययन गरेर मात्र विरोध गर्न विभिन्न पक्षलाई आग्रह गर्नुभयो ।
‘यो संविधानमा चाहेका बखत विदेशी र खास गरेर भारतीयले नागरिकता पाउने र थारु–पहाडी, मधेसी–पहाडी मिल्न नपाउने व्यवस्था मात्र छैन अरु सबै जातजातिका अधिकार सुरक्षित छन्,’ उहाँले भन्नुभयो– ‘अंगिकृत नागरिकका सवालमा पनि नेपालको संविधान अरु देशको तुलनामा निक्कै लचिलो छ । अन्य मुलुकमा अंगिकृत नागरिकले सांसद बन्न समेत पाउदैनन् तर हाम्रो संविधानले सांसद, मन्त्री, सेना, कर्मचारी र प्रहरी हुने व्यवस्था गरेको छ ।’
केही अंगिकृतले संविधानमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, संघीय सभामुख हुन नपाउने व्यवस्था गरेकोले मधेसी लगायतलाई उचालेको उहाँले बताउनुभयो ।
अंगिकृतलाई मुलुक र संघीय प्रदेशका मुख्य पद दिने व्यवस्था गरे सबैभन्दा बढी वंशज मधेसी समुदायलाई नै घाटा हुने उहाँको जिकिर छ । नेता पौडेलले ०६२ ÷०६३ को आन्दोलनमा कांग्रेस एमालेले बोकेर शक्तिशाली भएकाहरुले मुलुकमा जातिय द्धन्द्ध फैलाएको दावी पनि गर्नुभयो ।
जातिय मुद्धाकै कारण टीकापुर र तराइ मधेसमा गम्भीर प्रकृतिका घटना भएको चर्चा गर्दे उहाँले धेरै जातजातिको बसोबास भएको मुलुकमा कुनै एक जातको राज्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।
‘०६२/०६३ को आन्दोलनको माग संघीयता थिएन नेपाललाई अस्थिर वनाउन र कम्यूनिष्टलाई समाप्त पार्न हाम्रो काँध चढेर आएकाहरुको माध्यमबाट संघीयता ल्याइएको हो,’ उहाँले भन्नुभयो । अब जबरजस्त आएको यो संघीयतालाई सफल पार्न जिम्मेवार भएर लाग्न एमाले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
संविधान कार्यान्वयन गर्न मुलुकका प्रमुख तीन पार्टी मिल्नै पर्ने बताउदै उहाँले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसले गल्ती गरेकोले त्यसलाई सच्याउन एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्ताको तहबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो । आफूले भनेको नमानेकोले भारतले नाकाबन्दी गरेको हो भन्दै उहाँले उत्तरको नाका पनि खोल्नै पर्नेमा जोड दिनुभयो ।
उहाँले नवौं महाधिवेशनको निर्णय अनुसार एमाले कार्यकर्ताले उघोग, व्यवसाय गरेर आफूलाई राजनीतिमा स्थापित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
संविधानको कार्यान्वयनका लागि तराइमधेसमा गर्न थालेका कार्यक्रममको टीकापुरबाट शुरुवात भएको एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीले वताउनुभयो । उहाँले युवा नेताहरु केन्द्रको नीति अनुसार तराइ मधेस पुग्ने पनि वताउनुभयो ।
अध्यक्ष सोडारीले भदौ ७ गते डेढ वर्षिय वच्चा, वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित नौ जना मारिएपछिको डेढ महिने कफ्र्यु र निषेधाज्ञापछि एमालेले पहिलो राजनीतिक कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रम क्षेत्रीय अध्यक्ष तीर्थ उपाध्यायको अध्यक्षतामा भएको थियो ।




![p[1]](https://www.dainiknepal.com/wp-content/uploads/2015/10/p1-650x488.jpg)














प्रतिक्रिया