काठमाडौं- संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ। भारतले गरेको अघोषित नाकाबन्दीका कारण उपभोक्ता ठूलो मारमा पर्दा पनि सरकारले केही नबोलेपछि संसदीय समितिले कूटनीतिक पहल गरेर चीनबाट ल्याउन निर्देशन दिएको हो। ‘नाकाबन्दी भएको एक महिना बित्न लाग्दा समेत सरकारले वैकल्पिक व्यवस्था नगरेपछि समितिले निर्देशन दिएको हो।
सिंहदरबारस्थित समितिको कार्यालयमा भएको कार्यक्रममा सभापति भिष्मराज आङ्देम्बेले जनतालाई तत्काल विकल्प दिन निर्देशन दिए। ‘भारतले नाकाबन्दी गर्योआ भन्दैमा अन्य देशबाट ल्याउन सकिन्न भन्ने हो?’ सरकारलाई प्रश्न गर्दै उनले थपे, ‘तत्काल विकल्प खोजेर ल्याउनु पर्छ।’
बहुमति नेपालीको मुख्य पर्व दसैं तथा तिहार संघारमै आएको बेला जनताले सहज रुपमा आफ्नो घरसम्म पुग्ने वातावारण मिलाउन निर्देशनसमेत दिए। ‘जनताको घरमा आगो निभेको छ, सरकारले यस विषयमा अहिलेसम्म केही नबोल्नु दुखद हो,’ उनले भने, ‘सरकारले कूटनीतिक पहल नगरेसम्म चीनबाट पेट्रोलियम ल्याउन सम्भव छैन।’
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले सरकारी पहलविना चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिने बताए। ‘सरकारले निगमलाई जिम्मा दिँदैमा चीनबाट तेल आउँदैन,’ समितिमा भएको कार्यक्रममा उनले भने, ‘पहिला जिटुजी एग्रिमेन्ट नभई बिटुबी गर्न सकिन्न।’
समितिका सदस्य तथा सांसद सुवासचन्द्र ठकुरीले सरकारको लाचारीपनका कारण जनताले दुःख पाएको बताए। ‘सरकार भारतको सति गएपछि जनताले दुःख पाए,’ उनले भने, ‘सरकारको पहलविना आयल निगमले तेल ल्याउन असम्भव छ।’
निगमले गत शुक्रबार चीनसँग कुटनीतिक पहल गर्न वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएको थियो। उक्त पत्रलाई वाणिज्य मन्त्रालयले सोमबारै परराष्ट्रमा पठाएको थियो। तर, परराष्ट्रले भारत बाहेकका देशबाट पेट्रोलियम पदार्थ ल्याउन नचाहेपछि समस्या थपिएको समितिको निष्कर्ष रहेको छ।
निगमले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न भन्दै ट्यांकरलाई समेत खडा गरेको छ। तर, सरकारल मौन बसेकाले चीनसँग कुनै औपचारिक कुराकानी समेत नभएको समितिका सदस्यहरुले बताएका छन्।
समितिका सदस्य ठकुरीले अहिलेको सरकार ‘टाइम पास’ गर्ने काममा उद्धत भएको आरोपसमेत लगाए। कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले आफ्नो देशमा भएको वस्तुलाई मात्रै व्यवस्थापन गर्न सक्ने बताए। ‘पेट्रोलियम पदार्थ त हाम्रो देशमा उत्पादन हुँदैन। त्यसैले यो हाम्रो नियन्त्रणभन्दा बाहिर छ,’ यसलाई व्यवस्थापन गर्न कठिन भएको छ,’ उनले भने, ‘सबै मिलेर समस्याको समाधान गर्न पर्नेमा कुनै पनि निकायले चासो नदिँदा समस्या भएको हो।’
वाणिज्य मन्त्रालयको पहलमा केरुङ नाका खुलिसकेपछि सरकारले चीनसँग कूटनीतिक पहल नगरेसम्म चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसक्ने उनको भनाइ छ। त्यसैगरी, कार्यक्रममा साल्ट्र ट्रेडिङ कर्पोरेसनकी महाप्रबन्धक उर्मिला शुक्रबारबाट श्रेष्ठले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको बताइन्। उनका अनुसार दसैं–तिहारमा प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट सहित सुपथ पसल सञ्चालन गरिएको छ।
त्यसैगरी, खाद्य संस्थानले पनि भोलिबाटै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो। खाद्य संस्थान कार्यालयमा उक्त पसल सञ्चालन गर्न लागेको संस्थानले बताएको छ । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया