काठमाडौ, २७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधानमन्त्री निर्वाचनमा पार्टीका प्रधानमन्त्री उम्मेदवार सभापति सुशील कोइरालाको पराजयको जिम्मेवारी तीन बरिष्ठ नेताहरुले लिनु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘निर्णय गर्ने सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल हो, त्यसैले पार्टीका उम्मेदवारको हारको जिम्मेवारी निर्णय लिने नेताले नै लिनुपर्छ । अब बस्ने केन्द्रीय कार्य समितिको बैठकमा उम्मेदवारी दिने तर्क के र कमिकमजोरीको मुल्याङकन हुने छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. महतले तीन नेताहरुले गृहकार्य नै नगरी उम्मेदवारी दिँदा पराजित हुनु परेको आरोप लगाउँदै अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा भने सहयोगी दलहरुसँग छलफल गरेर सहमतिको आधारमा उम्मेदवारी दिनुपर्ने बताए । यद्यपी उनले काग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवार दिएकै कारण संविधानको विरोध गरिरहेका मधेसवादी दलहरु संबैधानिक प्रक्रियामा प्रवेश गरेकोले त्यो सकारात्मक भएको दावी गरे ।
उनले चारवटै पदमा उम्मेदवारी दिने जानकारी दिदै सहयोगी दलहरुसँग छलफल गरेर साझा उम्मेदवारको रुपमा पठाउने बताए । उनले भने– ‘ठूलो पार्टीको नाताले सबै पदमा हाम्रो दावी रहन्छ । सबैसँग परामर्श गरेर उम्मेदवारी दिन्छौ । त्यसक्रममा अरुलाई समर्थन पनि गर्न सकिन्छ ।’
डा. महतले काग्रेसले अब संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने रणनीतिमा कांग्रेस रहेको सुनाए ।
उनले संविधानको कार्यान्वयन निर्माण भन्दा पनि जटिल रहेको तर्क गर्दै भने–मधेसीको माग संबोधन गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि संविधान संसोधन विद्येयकलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । नाकाबन्दीबाट दैनिक जनजीवन सहज बनाउनु छ, आर्थिक गतिविधी बढाउनु छ, भारतसँग सम्बन्ध सुधार्ने, भूकम्पपछिको पुनर्निर्माण सुचारु गर्ने, संसदमा अल्मलिएको प्राधिकरण विद्येयक पास गराउनु छ ।
डा. महतले कांग्रेस सत्तामा वा प्रतिपक्षमा जेमा भएपनि प्रजातन्त्रको सुदृढिकरण, राष्ट्रियता, आर्थिक समृद्धि, लोकतान्त्रिक मुल्य मान्यताको लागि काम गर्ने स्पष्ट पार्दै यसलाई अप्ठ्यारोमा पार्ने कुनै काममा पनि कांग्रेसले साथ नदिने बताए ।












प्रतिक्रिया