काठमाडौं, २७ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भेटवार्ता गरेका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नयाँ सरकार गठन, नेपाल भारत सम्बन्ध र अघोषित नाकाबन्दीका विषयमा छलफल भएको छ । छलफलमा नाकाबन्दी हटाउन भारत सकारात्मक रहेको कुरा राजदूत रे ले परराष्ट्र मन्त्री थापालाई जानकारी गराएका छन् ।
केपी शर्मा ओली नेतृत्वको नव निर्वाचित सरकारले आफ्नो पहिलो निर्णयमा भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न उपप्रम थापालार्इ जिम्मा दिएको थियो ।
राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले भेटवार्तामा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएको नेपाली जनजीवनबारे अवगत गराएको र समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको बताए ।
जवाफमा राजदूत रे ले भारतले छिट्टै नाका अवरोध हटाउने आश्वासन दिएका थिए । दुई देशबीच सम्बन्ध सुधार गरी अगाडि बढ्नुपर्ने कुरामा पनि राजदूत रे को जोड थियो । नयाँ सरकार गठनसँगै भारतले नाकाको अवरोधलाई केही खुकुलो बनाएको छ ।













प्रतिक्रिया