
काठमाडौं, २७ असोज । एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने नेता र आफ्नो भागमा परेको सभामुखमा कसलाई पठाउने भन्ने निर्णय गर्न एमाओवादी स्थायी कमिटी बसेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने नेता र सभामुखमा कसलाई पठाउने भन्ने विषयमा निर्णय हुने प्रचण्डका पीए चुडामणि खड्काले बताए ।
बैठकमा महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने र सभामुखमा प्रमुख सचेतक गिरिराजमणि पोखरेललाई पठाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । यता सचिव टोपबहादुर रायमाझीले पनि पार्टीको तर्फबाट सरकारको नेतृत्व पाउनुपर्ने पर्ने दाबी गर्दै आएका छन् । ओली सरकारमा एमाओवादीले गृह र उपप्रधानसहित आठ मन्त्रालय पाइसकेको छ ।
यसैबीच बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको समेत टुङ्गो लगाइनेछ । एमाओवादीले अहिलेसम्म सरकारमा कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिएर पठाएको छ ।












प्रतिक्रिया