काठमाडौँ, २६ असोज । नेकपा एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने कसरत थालेको छ ।
सत्तासाझेदार एमाओवादीले सभामुख र उपराष्ट्रपति लिने समझदारी भएकाले एमाले भित्रैबाटै नयाँ राष्ट्रपतिको खोजी भएको हो । जननेता मदन भण्डारीकी धर्मपत्नी समेत रहेकीले एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउन एमालेका केही नेताहरुले पहल थालेका हुन् ।
नेपाली महिला आन्दोलनकी नेतृ समेत रहेकी भण्डारी यसअघि रक्षा मन्त्री समेत भइसकेकी छिन् । भण्डारी प्रथम महिला राष्ट्रपति हुने हुँदा त्यसको जनमानसमा समेत राम्रो सन्देश जाने भन्दै एमाले नेताहरुले लबिङ थालेका छन् । कतिपयले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने लबिङ समेत गरेका छन् । तर, मदन भण्डारी पत्नी तथा महिला समेत भएका कारण विद्याको सम्भावना प्रबल बनेको छ । एमाओवादीबाट उपराष्ट्रपतिमा अमिक शेरचन, ओनसरी घर्ती लगायत चर्चामा छन् । यसैगरी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालले पनि उपराष्ट्रपतिमध्ये एउटा आफूलाई चाहिने भन्दै दाबी गरिरहेको छ ।
एमाले र एमाओवादीका कतिपय नेताहरुले पुष्पकमल दाहाल प्रचण्डलाई नै राष्ट्रपति बनाउन प्रस्ताव गरेपनि उनी खासै इच्छुक नदेखिएको स्रोतले बतायो ।













प्रतिक्रिया