काठमाडौं, २५ असोज । प्रधानमन्त्रीको मतदानलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद बढेको छ ।
आइतबारको भएको प्रधानमन्त्रीको निर्वाचनमा सल्लाह नै नगरी मतदान प्रक्रियामा सहभागी भएको भन्दै मोर्चामा विवाद उत्पन्न भएको हो । प्रधानमन्त्री निर्वाचनमा मतदान गर्ने निर्णयमा मधेस आन्दोलनका एक घटक तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको सहमति थिएन् । त्यसका बाबजुद पनि मधेसवादी दलका सम्पूर्ण सभासदहरुले निर्णय गरेरै मतदान गरेका थिए । यहाँसम्मकी महतोकै पार्टीका सभासदले मतदान गरेका थिए ।
यी विषयलाई लिएर उत्पन्न विवादका कारण तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बोलाइएको मोर्चाको बैठकलाई राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले बहिस्कार गरेको छ ।
बैठक बष्किार गरेको सदभावना पार्टीका महासचिव मनिष सुमनले संविधासभा त्यागेर आन्दोलनमा होमिएका आफ्ना सभासदलाई प्रधानमन्त्रीको निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराएको भन्दै यो कदमले मधेस आन्दोलनमा धोका दिएको आरोप लगाए । उनले भने- ‘मधेस आन्दोलनलाई धोका दिएर हाम्रै मान्छे मार्ने सरकारलाई भोट हाल्न गए, त्यसैले उक्त बैठक हामीले बहिष्कार गरेका हौं ।’
यसअघि प्रधानमन्त्रीका उम्मेदवार सशील कोइरालालाई मतदान गर्ने मोर्चाको निर्णयमा सदभावनाले असहमति जनाएको थियो । महतोको बष्किारसँगै मधेसी मोर्चा फुट्ने सम्भावना बढेको सदभावना पार्टीका एक नेताले बताए । उनले भने- यसैगरी तीन दलसँग झुक्दै जाने हो भने हामी भोली नै अलग हुन सक्छौं ।’
प्रधानमन्त्रीको निर्वाचनमा मधेसी मोर्चाले कांग्रेस सभापति सुशील कोइरालालाई मत दिएको थियो ।












प्रतिक्रिया