काठमाडौं, २५ असोज । झण्डै तीन साता लामो अघोषित नाकाबन्दीपछि भारतले तेल लिन आउन नेपाललाई बोलाएको छ ।
तेल लिन बोलाएपछि सोमबार नेपाली ट्याकंर भारतका विभिन्न डिपोमा पुगेका छन् । भारतको इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सामान्य अवस्थाको भन्दा बढी तेल उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि सोमबार नेपाल आयल निगमले डेढसय भन्दा बढी नेपाली ट्यांकरहरुलाई इन्धन भर्न भारतीय डिपोमा पठाएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।
प्रवक्ता बरालका अनुसार आइओसीले प्रतिबद्धता अनुरुप लोडिङ दिएमा मंगलबार संख्या बढाएर ट्यांकर पठाउने निगमले तयारी गरेको छ । आज भारत पठाइएका सबै ट्यांकरमा प्रतिबद्धता अनुसार तेल उपलब्ध गराए मात्रै मंगलबार थप ट्यांकर पठाइने छ ।
नेपाली ट्यांकरहरु आइओसीको गोन्डा, बैतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्यांकरहरु पुगेका हुन् । वीरगञ्ज नाकासँग जोडिएको रक्सौल डिपोमा भने पठाइएको छैन् । मधेसी मोर्चाको अवरोधले त्यहाँ ट्यांक पठाउन नसकिएको प्रवक्ता बरालले बताउनुभयो ।
यसअघि आइतबार भारतको सिलगुढी र गोन्डा डिपोमा ४३ ट्यांकर तेल लोड भएका थिए ।












प्रतिक्रिया