काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको शपथ लिएपछि पार्टी मुख्यालय बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्याणर्पन गर्नु हुने भएको छ ।
दिउँसो एक बजे शीतल निवासमा राष्ट्रपति डा.रामवरण यादवसँग शपथ दिलाएपछि ओली बल्खु पुगेर भण्डारीको शालिकमा माल्याणर्पन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बल्खुबाट ओली कीर्तिपुरस्थित पुष्पलालको प्रतिमामा माल्याणर्पन गर्न जाने कार्यक्रम रहेको छ । तर कीर्तिपुर जाने समय भने अझै टुङ्गो लागिनसकेको श्रेष्ठले बताउनुभयो ।
नवर्निवाचित प्रधानमन्त्रीको शपथ र अन्य कार्यक्रम मिलाउन सचिवालय सचिव श्रेष्ठ राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ । श्रेष्ठले शीतल निवाससँग मिलेर नवनिर्वाचित प्रधानमन्त्री ओलीको कार्यक्रम तयारपार्नु हुनेछ ।
शपथपछि ओलीले सानो आकारको मन्त्रिमण्डललाई पनि शपथ दिलाउनु हुनेछ । सानो आकारको मन्त्रिमण्डलमा एमालेबाट भीम रावल र विष्णु पौडेलले शपले लिन सक्ने स्रोतको भनाइ छ । तर पार्टीबाट को को मन्त्री सहभागी हुने निर्णय गर्न एमालेको स्थायी समितिको बैठक बस्दैछ ।
त्यसै गरी एमाओवादीबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट कमल थापाले पनि आजै शपथ लिने कार्यक्रम रहेको स्रोतको दाबी छ । यस विषयमा दुबै पार्टीले आधिकारिक रुपमा केही बताएका छैनन् ।
सानो आकारको मन्त्रिमण्डललाई शपद दिलाइसकेपछि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर मुलुकको ३८ औँ प्रधानमन्त्रीका रुपमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुहुनेछ ।
त्यसका लागि मन्त्रिपरिषद कार्यालयले सबै चाँजोपाँजो मिलाएको छ । पदभार ग्रहणलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने स्रोतको भनाइ छ ।












प्रतिक्रिया