काठमाडौं, २४ असोज । बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठनको नेतृत्वका लागि आज हुन गइरहेको मतदानमा नेकपा एमालेले जित्ने पक्का भएको छ ।
संसद, विभिन्न पार्टी र सांसदहरुको विश्लेषणमा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली बहुमतका विजयी हुने माहोल व्यवस्थापिका संसद भवनमा देखिएको हो । संसद भवनमा रहेका हाम्रा सम्वाददाता विमल योगीका अनुसार ओली प्रधानमन्त्री बन्ने देखिएपछि सभासददेखि नेतासम्म उत्साहित छन् । कांग्रेसकै कतिपय नेता ओली प्रधानमन्त्री बन्ने देखिएपछि उत्साहित देखिएका छन् ।
राजनीतिक विश्लेषण अनुसार सरकारको नेतृत्वमा पुनः दाबी गरिरहेको नेपाली कांग्रेसले बहुमत ल्याउने सम्भावना एकदमै न्यून छ । संसद भवनबाटै कांग्रेस एमालेका धेरै सभासदले कांग्रेस सभापति सुशील कोइरालालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् । प्रधानमन्त्री पदबाट उम्मेदवारी फिर्ता लिन परिवार दलका अध्यक्ष एकनाथ ढकालले त बालुवाटारै पुगेर कोइरालालाई आग्रह गरेका छन् ।
संसद चुनावमा हार्ने संकेत देखिएपछि कोइरालाले पनि उम्मेदवारी फिर्ता लिने चर्चा जताजतै बढेको छ । अन्तिम समयमा कोइरालाले उम्मेदवारी फिर्ता लिने एमाले नेताहरुको अझै पनि विश्वास छ । एमाले उपमहासचिव विष्णू पौडेलले कोइरालाले अझै पनि आफ्नो निर्णयमा पूर्नविचार गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
पछिल्लो राजनीतिक विश्लेषण अनुसार कांग्रेसको पक्षमा अहिलेसम्म बहुमत देखिएको छैन् । बहुमत नदेखिएपछि हार्ने भयले कोइरालाले उम्मेदवारी फिर्ता लिने संकेत देखाएको बालुवाटार स्रोतले जनाएको छ । यद्यपी अहिलेसम्म कुनै निर्णयमा पुगिसकेका छैनन् । प्रधानमन्त्रीको चुनावका लागि संसद भवनमा अहिले चहल पहल बढिरहेको छ ।












प्रतिक्रिया