बनेपा, १९ असोज । इन्धन आपूर्ति नभएको मौका छोपी व्यापारीले उपभोग्य सामग्रीमा जथाभाबी मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् ।
उपभोक्ताले पसलपिच्छे खाद्य सामग्रीको मूल्यवृद्धि भएको उल्लेख गर्र्दै यसको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । “जथाभाबी मूल्यवृद्धि भयो भने हामी जस्ता गरिबका लागि सजिलो हुदैन”–बनेपाका स्थानीय लालकुमार श्रेष्ठले भन्नुभयो । तर व्यापारीले नेपाल–भारत नाकामा उत्पन्न तनावका कारण लुकिछिपी सामान पठाउँदा महँगो भएका कारणले उपभोग्य सामानमा मूल्यवृद्धि भएको जिकिर गरेका छन् ।
उद्योग वाणिज्य सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष सुरकृष्ण वैद्यले मूल्यवृद्धि स्वभाविक भएको उल्लेख गर्दै ढुवानी भाडा पनि वृद्धि भएका कारण उपभोग्य सामानमा मूल्यवृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले वीरगन्जबाट ल्याउने सामानको ढुवानी खर्च रु २० हजार बढेको छ ।”
काभ्रेपलाञ्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बजारमा नियमित अनुगमन भइरहेको जानकारी दिँदै कतिपय उद्योगलाई कारबाहीको दायरामा ल्याइएको बताउनुभयो ।
बनेपास्थित न्यू चण्डेश्वरी खाद्य स्टोर्सका सञ्चालक अम्बिका तिमिल्सनाका अनुसार सबै किसिमका चामलमा प्रतिबोरा रु २००, खाने तेलमा प्रतिलिटर रु ३०, जिरामा प्रतिकिलो रु ५०, मैदा प्रतिकेजी रु ४००, चिउरामा रु ५ देखि १५ सम्म, दालमा रु ३० देखि ५० सम्म मूल्यवृद्धि भएको छ । रासस















प्रतिक्रिया