५ कार्तिक २०८३, बिहिबार

नरेन्द्र मोदीको पुत्ला जलाएकोमा भारत यसरी रिसायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modiकाठमाडौं, १९ असोज । भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय जोलीले नरेन्द्र मोदी बलियो नेपालका पक्षमा रहेको बताएका छन् ।

नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरूले नेपालमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाएको उनको आरोप रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘नेपाललाई कमजोर पार्ने होइन, बलियो पार्ने मोदीजीको अठोट छ । विकासका लागि भारत नेपालको बराबरी साझेदार बन्न चाहन्छ,’ साउथ एसिया पिस इनिसियटिभ्सले आइतबार साँझ दिल्लीमा आयोजना गरेको कार्यक्रममा जोलीले भने, ‘तर काठमाडौंमा मोदीजीको पुत्ला जलाइयो । नेपाल–भारत सम्बन्ध बिगार्न चाहने केही तत्त्वले यस्तो काम गरे ।’

भारतमा ५५ लाखभन्दा बढी नेपालीले काम गरिरहेको र भारत निर्माणमा उनीहरूको योगदानलाई पार्टीले उच्च मूल्यांकन गरेको पनि जोलीले बताए । जोलीले नयाँ संविधानमा केही गुनासो राखेको, तर भारतले अस्वीकार नगरेको पनि तर्क गरे ।

‘हाम्रा केही मतभेद छन्, तर नयाँ संविधान आएकोमा म भारतीय जनता पार्टीका तर्फबाट स्वागत गर्न चाहन्छु र नेपाली जनतालाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ जोलीले भने, ‘हामीलाई थाहा छ कि यो नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो ।

तर, जातीय, क्षेत्रीय विभेदमा परेकाहरूलाई सहमतिमा ल्याएर अघि बढ भारत सरकारले भनेको छ । यति कुरा त नजिकको छिमेकीले गर्न पाउनुपर्छ ।’

१२ बुँदे समझदारीमा भारतले सहजीकरणको भूमिका निर्वाह गरेको उल्लेख गर्दै जोलीले अहिले पनि नेपाललाई अप्ठेरो पर्दा भारतले सहजीकरण गरिदिने बताए ।