१ कार्तिक २०८३, शनिबार

कञ्चनपुरमा काँग्रेस युवा नेता व्यवसायिक केराखेतीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kera-kheti-kanchanpur (1)महेन्द्रनगर, १८ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता कृषि पेसामा लागेका छन् । कञ्चनपुरमा काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हरेन्द्र विष्टले जमिन भाडामा लिएर व्यवसायिक केरा खेतीमा लागेका हुन् ।

युवा नेता विष्टले पुर्नवास नगरपालिका १५ अंशुबार्मा बस्तीमा ७ विगाह जमिन भाडामा लिएर गत वर्षदेखि केराखेती गरिरहेका छन् । आर्थिक रुपमा आत्मनिर्भर बन्नका लागि केराखेती गरेको नेता विष्टले बताए । ‘आर्थिक गतिबिधी र राजनीतिक गतिबिधीसंगै लग्नुपर्छ भन्ने मान्यताले केराखेती रोजे’ उनले भने ।

पूर्नवासका स्थानिय जयबहादुर चन्द लगायतको जमिन भाडा लिएर केराखेती गरेको बताउँदै उनले जमिन भाडाबाफत बार्षिक तीन लाख १५ हजार भुक्तानी गरिरहेको बताए । टिसी कल्चर प्रविधिबाट उन्नत जातका जी–९ र जीएमसी–९ जातका केराखेती गरिएका छन् ।

भारतीय केरासंग नेपाली केराले बजार नपाउने भएकाले केराखेती जोखिम हुने गरेको समेत उनको अनुभव छ । पहिलो दुई विगाह जमिन केराखेती गरेर एक लाख नाफा आर्जन गरेका विष्टले भारतीय केरासंग नेपाली केरा प्रतिस्पर्दा गर्न चुनौती रहेको बताए । केरा व्यवसायहरुले प्रति दर्जन ३० रुपैयाँमा काँचो केरा बिक्रि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

केरा खेतीका लागि बिउ–बिजन, समयमै मल नपाउने, विभिन्न समयमा रोग लाग्ने, सिँचाईको समस्या, मजदुरको चुनौती रहेको उनको अनुभव छ । बजारमा भारतीय केरा पहेलो र नेपाली केरा हरियो हुने भएकाले उपभोक्ताहरुले भारतीय केरा नै मन पराउने गरेकाले यहाँका केरा व्यवसायिहरु समस्यामा रहेको उनको भनाई छ । विष्टको केराखेतीबाट प्रत्यक्ष रुपमा दुई जनाले रोजगार पनि पाएका छन् ।

Kera-kheti-kanchanpur (2)नेपाली उपभोक्ताहरुले नुन देखि सुनसम्म विदेशबाट ल्याउनुपर्ने बाध्य भएको भन्दै, स्वदेशै सम्भावना भएका बस्तुहरु पनि विदेशबाट खरिद पनुपर्ने भएकाले स्वदेशमै सम्भावना भएका बस्तुहरुको प्रर्बद्धन गर्नका लागि केराखेती रोजेको विष्टले बताए । ‘तरकारी फलफुल खरिदका लागि पनि विदेशीको मुख ताक्नुपर्छ, उक्त समस्या हटाउनका लागि भाषणमा अरुलाई गर्नपर्छ भन्नुभन्दा पनि मैले उक्त समस्या हटाउनका लागि आफैबाट शुरुवात गरेको हुँ,’ उनले भने– ‘यहाँ उत्पादन हुने केराले केही स्वदेशी उपभोक्ताहरुलाई सहज हुनेछ ।’ सच्चा राजनीतिक गर्नेहरुलाई आर्थिक स्रोत पनि बलियो पार्नुपर्ने भएकाले केराखेतीले आफू र उपभोक्ताहरुका लागि सहज हुने उनको बुझाई छ ।

सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापना गरेर यस क्षेत्रमा कृषिको विकास विस्तार गरे मात्रै नेपालीहरु कृषिजन्य पदार्थमा आत्मनिर्भर बन्ने उनको सुझाव छ । विस २०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनितिक यात्रा शुरु गरेका विष्टले ०४६ सालको जनआन्दोलनमा शसक्त रुपमा सहभागिता जनाएका थिए । हाल विष्ट नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति हुन् । उनी उक्त क्षेत्रपार्टीमा बलिया र जनतामा लागि लोकप्रिय नेता मानिएका छन् । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार हाल जिल्लाभरीमा ३ हजार विगाह जमिनमा केराखेती गरिएको छ ।