इस्लामावाद, १८ असोज । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि यसै महिना वासिङ्टन जानुहुने भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको निमन्त्रणामा उहाँ अमेरिका जान लाग्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
पाकिस्तानी सरकारी रेडियो रेडियो पाकिस्तानले सोमबार दिएको जानकारी अनुसार पाकिस्तानी प्रधानमन्त्री शरिफले सो भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा र अमेरिकी मन्त्रिपरिषदका सदस्यहरुसँग भेटवार्ता गर्नुहुने छ ।
उहाँ यसै महिनामा सो भ्रमणमा जान लाग्नुभएको छ तर पनि भ्रमणको मिति भने तय भएको छैन । दुवै पक्षको परामर्शबाट भ्रमणको मिति तय गरिने जानकारी सो रेडियोले दिएको छ । अगष्ट महिनामा भएको अमेरिकी सुरक्षा सल्लाहकार सुसन राइसको पाकिस्तान भ्रमणका क्रममा उहाँले पाकिस्तानी प्रधानमन्त्रीलाई राष्ट्रपति ओबामाको आमन्त्रण हस्तान्तरण गर्नुभएको थियो ।
गत महिनामात्र पनि पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिका पुग्नुभएको थियो । अमेरिकाका लागि पाकिस्तानी राजदूत जलिल अब्बासले पछिल्लो समयमा पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध राम्रो रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– बिगतको तुलनामा हाल दुई देशबीचको सम्बन्ध राम्रो छ । यही सम्बन्धलाई थप सुदृढ बनाउनका लागि पनि यो भ्रमण हुन लागेको उहाँले स्पष्ट गर्नुभयो । पाकिस्तानी अमेरिकन समुदायलाई वासिङ्टनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– प्रधानमन्त्री शरिफको आगामी सो सम्बन्धले गर्दा यी दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।
राजदूत जलिलले विगत लामो समयदेखि नै अमेरिकाले पाकिस्तानलाई आतङ्कवाद विरुद्धको सङ्घर्षका लागि सघाएको छ । आतङ्कवाद विरुद्धमा लड्न अमेरिकाले पाकिस्तानलाई युद्ध सामाग्रीका साथै विभिन्न हात हतियार आदिका माध्यमबाट सघाउदै आएको छ ।
भ्रमणका क्रममा हतियारको थप सहयोगका बारेमा छलफल हुने बताइएको छ । हतियारको थप सहयोगका सम्बन्धमा छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने भएपछि भारत चिन्तित भएको छ । रासस/सिन्हवा















प्रतिक्रिया