महेन्द्रनगर (धनुषा), १८ असोज । तराई मधेसमा आन्दोलनको कारण दखाउँदै नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतले नेपाली नागरिकलाई अर्काे दुःख दिन थालेको छ । मधेस आन्दोलनको मौका छोपी भारतीय व्यापारीहरु नेपालीलाई ठग्दै दुःख दिन थालेका हुन् ।
तराई मधेसमा जारी अनिश्चितकालीन आम हडतालको मौका छोपी सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्दा मनपरी शुल्क लिएर नेपाली नागरिकलाई ठगिरहेका छन् ।
बन्दका कारण बैंकहरु बन्द भएपछि सिमावर्ती भारतीय बजारमा सामान खरिद गर्न पुगेका सर्वसाधारणलाई मनपर्दी दररेटमा नेपाली रुपैयाँसँग भारु साट्दा मनपरी बट्टा शुल्क असुल्दै आएका छन् ।
भारतीय बजारमा हाल एक सय भारु लिनको लागि नेपाली १६८ देखि १७० रुपैयाँसम्म तिर्नुपरेको महेन्द्रनगर–२ का शशीभुषण गुप्ताको भनाइ छ ।
सीमावर्ती बासोपट्टी, जयनगर, दुहबी, भिट्ठाभोड, सुरसन्ड, कन्हवाँलगायत स्थानबाट दैनिक उपभोग्य वस्तु ल्याउने क्रममा त्यहाँका व्यापारीले सर्वसाधारण नेपालीलाई ठग्दै आएको गुप्ताले बताउनुभयो । रासस
















प्रतिक्रिया