जाकार्ता (इन्डोनेसियाली), १५ असोज । दश जना यात्रुसहित इन्डोनेसियाको प्रान्तीय राजधानी माकसारका लागि मासाम्बा विमानस्थलबाट छुटेको जहाज सुलाबेसी टापुबाट सम्पर्क बाहिर गएको यहाँका अधिकारीले शुक्रबार जनाएका छन् ।
जहाजमा चार जना वयस्क, तीन जना बालक र तीन चालक दलका सदस्य सवार रहेका थिए ।
स्थानीय समयअनुसार २ बजेर २९ मिनेट जाँदासम्म विमानले टावरसँग सम्पर्क गरेको यहाँको हवाई ट्राफिक नियन्त्रण कार्यालयले जनाएको छ ।
डीएचसी-७ नामक ट्वीनअटर जहाज कुनै पनि टावरसँग सम्पर्कमा नआएकाले विमान दुर्घटनामा परेको हुनसक्ने जनाइएको छ ।
इन्डोनेसियाली खोजी तथा उद्धार समन्वय संस्थाका प्रमुख बामवाङ सुलिस्त्योले एएफपीलाई बताउनुभयो “हामी थप सूचनाको पर्खाइमा छौँ । उद्धार कार्यमा केही कमी नहोस् भनेर म र मेरो समूह शुक्रबार राति नै मासाम्बा जाँदै छौँ ।”
शनिबार बिहानदेखि नै उद्धारकार्य सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । सवेरैैदेखि उद्धारकार्य सुचारु गरिने छ, सुलिस्त्योले थप्नुभयो ।
“अहिले रात परिसकेको छ तर, नयाँ सूचना प्राप्त गर्ने बित्तिकै उद्धारको थप प्रयासलाई अघि बढाइने छ, ” उहाँले भन्नुभयो ।
सामानयतया, मासाम्बा विमानस्थलदेखि माकासार पुग्न विमानलाई करिब एक घण्टा लाग्ने गर्छ ।
तर, विमानस्थलबाट जहाज छुटेको ८ मिनेटपछि उक्त जहाज सम्पर्क बाहिर गएको मासाकार विमानस्थलका महाप्रबन्धक अब्दुल मुनिरले स्थानीय एक टेलिभिजन च्यानलसँगको कुराकानीमा बताउनुभयो ।
एभिस्टार मन्दिरी इन्डोनेसियाको आन्तरिक यात्रुवाहक विमान हो । रासस/एएफपी















प्रतिक्रिया