काठमाडौं, १४ असोज । कृषि अनुसन्धान परिषद (नार्क)मा पूर्व कृषिमन्त्री हरि पराजुली र विभागीय मन्त्रीसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम मिलेर श्रेणीविहन कर्मचारी भर्ना गरी लाखौँ रकम कुमल्याएको तथ्य सार्वजनिक भएको छ ।
परिषद्का सदस्य सचिव नवीन प्रकाश पौडेलसँग मिलेर पराजुलीले श्रेणीविहन कर्मचारीलाई स्थायी बनाएर रकम असुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
उनीहरुले एक सय ३० जना कर्मचारी भर्ना गरेर रकम असुलेका हुन् । निम्न स्तरका कर्मचारीहरुसँग विभागीय मन्त्री गौतमको निर्देशनमा पूर्व कृषिमन्त्री पराजुली र पौडेलले रकम उठाएर खाएपछि कांग्रेस, एमालेको एउटा गुट र एकीकृत माओवादी निकट कर्मचारी संगठनहरुले विरोध गरेका छन् ।
पूर्वमन्त्री पराजुलीले कर्मचारी स्थायी गरेवापत सदस्य सचिवमार्फत तीनदेखि चार लाखसम्म असुलेको प्रमाण फेला परेको छ ।
धान दिवसका दिन मदिरा सेवन गरेर महिलाहरुलाई यौनजन्य क्रियाकलाप गरेपछि बर्खास्तमा परेका पराजुलीले गृहमन्त्री गौतमको सरकारी निवास हरिहर भवनबाट कृषि मन्त्रालयको सबै जिम्मेवारी हेर्दै आएका छन् ।
उनले आफ्ना सहयोगीहरुलाई पठाएर कृषि मन्त्रालय, नार्क र अन्य विभिन्न विभागहरुबाट रकम उठाउने गरेको पनि एक कर्मचारीले जनाएका छन् ।
एमाले निकट कर्मचारीहरुले नै पूर्वमन्त्री पराजुली, सदस्य सचिव पौडेलले विभागीय मन्त्री गौतमको नाम भजाएर निम्नस्तरका कर्मचारीसँग रकम असुलेको थाहा पाएपछि पार्टी निकट पत्रपत्रिकाहरुबाट समाचारसमेत सम्प्रेषण गराएका छन् ।
२०७२ साल वैशाख ४ गते नार्कको कार्यविधिमा अनुभवको आधारमा निम्न स्तरका कर्मचारीलाई दश अंक दिने निर्णय भएको थियो ।
२०७२ साल जेठ ७ गते तहविहीन निम्न स्तरका कर्मचारीहरुको लागि स्थायी पदपूर्तिका लागि प्राविधिक तहमा विज्ञापन गरिएको थियो ।
तर, २०७२ साल असार २२ गते विज्ञापन प्रकाशित भएपछि गौतम, पराजुली र पौडेल मिलेर कार्यविधि संशोधन गरेका थिए । संशोधन कार्यविधिअनुसार पहिला दिइएको दश अंक हटाइएको छ ।
यसो गर्दा नार्कमा विगत वीस वर्षदेखि कार्यरत पूराना निम्न स्तरका (श्रेणीविहीन) कर्मचारीलाई स्थायी गरिएन । २० वर्षदेखि काम गरेर एमालेका मन्त्रीहरुले पैसा खाएर आफू निकटकालाई स्थायी गरेपछि कांग्रेस, एमालेको एक समूह र एकीकृत माओवादीका कर्मचारीहरु आन्दोलित भएका छन् ।
उनीहरुले पैसा खाएर विभागीय मन्त्री बामदेव गौतम, पूर्वमन्त्री हरि पराजुली र सदस्य सचिव नवीन प्रकाश पौडेलले गरेको निर्णय खारेज गराउन कम्मर कसेर लागेका छन् ।
उनीहरुले सदस्य सदस्य सचिव पौडेलसहितका बोर्डको खारेजी, पूर्वमन्त्री पराजुलीको ठाडो हस्तक्षेप अन्त्य र श्रेणीविहीन कर्मचारीविरुद्ध भएको परीक्षाको रिजल्ट खारेज गरेर पुन: अन्तर्वार्ता गर्नुपर्ने माग राखेका छन् ।
सिंहदरबारको नाकैमुनि रहेको नार्कमा एमालेका मन्त्रीहरुले निम्नस्तरका कर्मचारीलाई भर्ना गर्ने बहानामा लाखौँ रकम लिएको सप्रमाणसहित विभिन्न निकायमा धाउँदा पनि कसैको ध्यान गएको छैन ।
तर कांग्रेस, एमालेको एक समूह र एकीकृत माओवादी निकट कर्मचारीहरुले भने गौतम, पराजुली र पौडेलेको निम्नस्तरका कर्मचारी मार्ने निर्णयविरुद्ध दैनिक सरह आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले नार्कको केन्द्रीय कार्यालय सिंहदरबार, भद्रकालीमा धर्ना, घेराउलगायतमा कार्यक्रम गर्दै आएका छन् । गौतम, पराजुली र पौडेलका कारण वीस वर्षदेखिका निम्नस्तरका कर्मचारीहरु स्थायी हुन नपाएपछि उनीहरुको विचल्ली भएको छ ।
आन्दोलित हुनेमा नेपाल कृषि अनुसनधान परिषद् कृषि मजुर संघ संघर्ष समितिका संयोजक रामहरि चौलागाई, उपाध्यक्ष दीपक थापा, सदस्यहरु सम्झना केसी, रामकुमार भट्टराई, कवीर महर्जन, कुसुम श्रेष्ठ, देवकी खत्री (सचिव), देवीका बस्नेत, मीठू बोहरा, रमिता महर्जन, विन्दु देवकोटा, सञ्जय महर्जन, सञ्जीव जोशी, वले मगर, बुद्धि तामाङ, रघु खत्री, सरोज खड्कालगायतका झण्डै एक सय निम्नस्तरका कर्मचारीहरु आन्दोलित छन् ।















प्रतिक्रिया