जेनेभा (स्वीजरल्यान्ड), १० असोज । द्वन्द्व जारी रहेको यमनमा खाद्य सङ्कटको त्रास बढेको समाचारमा जनाइएको छ । गएको वर्षदिनदेखि सुरु भएको चरम हिंसाको चपेटामा परेको यमनमा खाद्यान्न सङ्कटको अवस्था आउन सक्ने बताइएको हो ।
यमनमा जारी राजनीतिक सङ्कट तथा हिंसाका कारण खाद्यान्न सङ्कटको बढ्न सक्ने अनुमान राष्ट्रसङ्घीय निकाय डब्लुएफपीले गरेको प्राप्त समाचारमा जनाइएको छ ।
उक्त निकायले हालैका दिनमा यमनमा विगतका वर्षहरुको तुलनामा निकै ठूलो आर्थिक एवम् खाद्यान्न सङ्कट पर्नसक्ने चेतावनी दिएको स्वीट्जरल्याण्डबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
खाद्यान्न एवम् आर्थिक सहयोगका क्षेत्रमा दाताहरु पनि कार्यरत रहेका भएपनि द्वन्द्वरत इस्लामिक राज्य यमनका लागि आर्थिक सहयोग तथा खाद्यान्न लिएर पुग्ने गरेका कुनै पनि सङ्घसंस्थालाई प्रवेशमा सहज पहुँच नभएकोले यस्तो अवस्था आउन सक्ने अनुमान गरिएको हो ।
यसरी सहयोगको खाद्यान्नकै लागि पनि यस्तो पहूँच हुन नसक्दा धेरै यमनी नागरिक भोकभोकै पर्ने अवस्था आइसकेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी जानकारी गराएको छ ।
उक्त निकायले पछिल्लो समयमा यसरी खाद्यान्नाको अभावमा पर्ने गरेका नागरिकको तथ्याङ्क लिने काम जारी रहेको र सो सङ्ख्या प्रतिदिन बढ्दै गएको पाइएको पनि जनाएको छ ।
यमनमा झन्डै १ करोड ४० लाख नागरिकले खाद्यान्नको अभाव महसुस गर्न थालेको बताएका छन् । करिब ६६ लाख यमनी जनता खाद्यान्न सङ्कटको चरम अभावमा रहेका र तत्काल उनीहरूको यो समस्या समाधान गर्नुपर्ने कोजिनले बताउनुभयो ।
प्राय यमनी नागरिकले द्वन्द्वका कारण आफ्ना दैनिक आवश्यकतालाई पूरा गर्न असमर्थ रहेको पनि जनाइएको छ । साथै आयात निर्यातको अवस्था पनि कमजोर बन्दै जाँदा यो अवस्था आएको बताइएको छ । रासस/एएफपी















प्रतिक्रिया