२१ कार्तिक २०८३, शनिबार

गच्छदारको मोर्चाले भन्यो- ‘प्रधानमन्त्री विदेश भ्रमणमा जाने होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachhedarकाठमाडौं, ५ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले प्रधानमन्त्री सुशील कोइरालालाई विदेश नजान आग्रह गरेको छ ।

ललितपुरको सानेपामा आज बसेको लोकतान्त्रिक मोर्चाको बैठकले प्रधानमन्त्रीलाई विदेश भ्रमणको मोह छाडेर मुलुकको समस्या समाधानतर्फ ध्यान दिन आग्रह गरेको हो । बैठकपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवद्धारा जारी संयुक्त विज्ञप्तिमा प्रधानमन्त्रीलाई विदेश नजान सुझाव दिइएको छ ।

‘देशको संक्रमणकालीन र चुनौतीपूर्ण वर्तमान राजनीतिक घडीमा देशको प्रधानमन्त्री विदेश जानु उपयुक्त नभएको निष्कर्षसमेत निकालेका छौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

तराई मधेसको सिमाङ्कनको माग राजनीतिक रहेको जनाएको लोकतान्त्रिक मोर्चाले छिटो सम्वाद र सहमतिबाट निकास निकाल्न माग गरेको छ । झापा, मोरङ, सुनसुरी, कैलाली र कञ्चनपुर जिल्लाको विवादलाई यथाशीघ्र राजनीतिक रुपमा अन्त्य गर्न गच्छदार नेतृत्वको मोर्चाको आग्रह छ ।

तराई मधेसको आन्दोलनका क्रममा मारिएकाहरुलाई शहीद घोषणा, घाइतको उपचार, पक्राउ परेकाहरुको विनाशर्त रिहाइलगायतका माग पनि पूरा गर्न लोकतान्त्रिक मोर्चाले सरकार र प्रमुख तीन दलसँग माग गरेको छ । मोर्चाले तराई मधेसको माग कानुनी र संवैधानिक नरहेको भन्दै राजनीतिक रुपबाट समाधान गरिनुपर्ने जनाएको छ ।

त्यसै गरी लोकतान्त्रिक मोर्चाले तराई मधेसको आन्दोलनमा सुरक्षाकर्मीबाट राज्यले बर्बर दमन गरेको भन्दै त्यसलाई रोक्न पनि माग गरेको छ ।