– गौरव त्रिपाठी
पोखरा, ४ असोज । पोखरामा स्थानीयले बन्दको प्रतिकार गर्दै सडक र्यालीको आयोजना गरेका छन् ।
सोमबार जातीय पहिचानसहित स्वायत्त तमुवान प्रदेशको माग गर्दै तमुवान संयुक्त संघर्ष समितिले आव्हान गरेको तमुवान बन्दको पोखरेलीले प्रतिकार गरेका हुन् । पोखराका उद्योगी व्यवसायी तथा सर्बसाधारणले बन्दको अबज्ञा गर्दै र्याली निकाले ।
सयौको संख्यामा मोटरसाईकल र गाडि सहित र्यालीमा सहभागी स्थानीयले ‘पोखरा सधै खुल्ला छ, गरीखान देउ, बन्द सधैको लागि बन्द गरौ’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
पोखरा उद्योग बाणिज्य संघ गैह्रपाटनबाट सुरु भएको र्याली पोखराका बिभिन्न स्थानको परिक्रमा गरी पुन सोहि स्थानमा पुगेर टुङ्गिएको थियो ।
र्याली पछि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बन्द हड्ताल सधैको लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपालको नयाँ संबिधान जारी भएकाले देश अब आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा कुनैपनि बन्द हड्ताललाई अब पोखरेलीले प्रतिकार गर्ने चेतावनी दिनुभयो । उहाँले निर्धक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्न र सवारी चलाउन व्यसायीहरुलाई आग्रह गर्नुभयो ।
सभासद् यज्ञ बहादुर थापाले बन्द, हड्ताल तोडफोडको अन्त्य गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । बन्दको क्रममा सोमबार बिहानै पोखराबाट ३० भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।













प्रतिक्रिया