काठमाडौं, १ असोज । संविधानसभाबाट संविधान पारित गर्ने वेला बुधबार ६६ सभासद् अनुपस्थित रहे ।
अनुपस्थितमध्ये ५९ सभासद् प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा थिए भने ६ सभासद् बिरामी भन्दै उपस्थित नभएका हुन् ।
बिरामी भनेर बुधबार अनुपस्थित हुनेमा कांग्रेसका दुई, एमालेका एक, एमाओवादीका एक, मधेस समता पार्टीका एक र बहुजन पार्टीका एक सभासद् छन् ।
कांग्रेस नेता खुमबहादुर खड्कापत्नी शिला शर्मा खड्का संविधान पारित गर्दा मतदानमा उपस्थित नभएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
कांग्रेसकै अर्का नेता प्रदीप गिरीपनि संविधानसभामा मतदानमा उपस्थित भएनन् । प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गिरी उपचारका लागि भारत गएको भन्ने सुने पनि आफूलाई कुनै जानकारी नभएको बताए ।
एमाले सभासद् राज्यलक्ष्मी गोल्छाले पनि अस्वस्थताको कारण जनाउँदै संविधानसभाको मतदान प्रक्रियामा भाग लिइनन् ।
एमाओवादी सभासद् प्रभु साह पनि मतदान प्रक्रियामा उपस्थित भएनन् ।
मधेसमा भइरहेको आन्दोलन र दलहरूबीच प्रक्रिया अघि बढाउने सहमतिप्रति साह असन्तुष्ट थिए ।
दलित समुदायको अधिकार र समानुपातिक समावेशिताको सिद्धान्त संविधानमा किटान गर्न माग गर्दै आमरण अनशन बसेका बहुजन पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवान पनि अस्वस्थ भन्दै मतदानमा सहभागी भएनन् ।
मिर्गौला प्रत्यारोपण गरेर उपचार गराइरहेका मधेस समता पार्टीका एक मात्रै सभासद् मेघराज नेपाली निसाद भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।
मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सन भएर उनी उपचार गराइरहेकाले मतदानमा उपस्थित नभएका हुन् ।















प्रतिक्रिया