दोलखा, ३० भदौ । दोलखाका भूकम्प पीडितमध्ये आठ व्यक्तिलाई सिजनल फ्लुको सङ्क्रमण देखिएको छ ।
भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका मानिसमा सिजनल फ्लुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयमा आज आयोजित पत्रकारसम्मेलनमा कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिनुभयो ।
पछिल्लो समय रुघाखोकी र ज्वरोको बिरामीको सङ्ख्या बढिरहेको भन्दै केही व्यक्तिको स्वास्थ्य परीक्षणको क्रममा आठ जनालाई सिजनल फ्लुको सङ्क्रमण देखिएको कार्यालयले पत्रकार सम्मेलनमार्फत बताएको हो ।
उहाँले भन्नुभयो, “आठ जनामा एचवानएनवान पोजेटिप देखिएको छ । उहाँले बढी मात्रामा भीमेश्वर नगरपालिकोको वडा नम्बर १ र २ मा बढी मात्रामा सङ्क्रमण बढेको भन्दै गाउँगाउँमा पनि यसको समस्या देखिएको बताउँदै स्थानीयलाई जोगिन अनुरोध गरिएको छ ।
जिल्लाको २७ स्वास्थ्य संस्थाहरुमा गरिएको सर्वेक्षणअनुसार जिल्लामा १०७ जनामा यस्को लक्षण देखिएको बताउनुभयो । तीमध्ये आठजनालाई पोजिटिप देखिए पनि अन्य बिरामीमा सामान्य भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो ।
सङ्क्रमण फैलिनुको मुख्य कारण भनेको भूकम्पपछि घर भत्किएर अस्थायी टहरामा सामूहिक बसाइ, सरसफाइमा ध्यान नदिनु, पशुपन्छीलाई सफासुघर नगर्नु नै रहेको कार्यालयको भनाइ छ ।
सङ्क्रमणबाट बढीमात्रामा बालबालिका, गर्भवती महिला र ६५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई प्रभावित गर्ने भएकाले सचेत रहन र खानपानदेखि सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । रासस















प्रतिक्रिया