१० कार्तिक २०८३, मंगलबार

‘संविधान निर्माण प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले खुसीका साथ समर्थन गरिरहेका छन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra_pandayकाठमाडौँ, २९ भदौ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले संविधानसभामा चालु संविधान पारित प्रक्रियालाई छिमेकी मित्रराष्ट्रबाट धमाधम समर्थनका वक्तव्य आइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले संविधान जारी भएपछि छिमेकी र अन्तर्राष्ट्रिय समुदायबाट जुन–जुन हिसाबले सहयोग र समर्थन गर्नुपर्ने हो त्यो कुनै तल माथि हुने छैन भन्नेमा सरकारले पूर्ण विश्वास लिएको उल्लेख गर्नुभयो ।

संविधान बन्न लागेकामा स्वदेश तथा विदेशमा सबैले खुसी व्यक्त गर्ने क्रम सुरु भइसकेकाले कसले समर्थन गर्छ कि गर्दैन भनेर दिमागबाट नकारात्मक पक्ष अब झिेकर फाल्न जरुरी रहेको परराष्ट्र मन्त्री पाण्डेको कथन थियो ।

आगामी असोज ३ गते संविधान जारी गर्न आयोजना हुने समारोहमा मित्रराष्ट्रबाट कुन तहको सहभागिता हुने भन्ने टुङ्गो लागिनसकेपनि सो समारोहमा यहाँस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिको सहभागिताको सुनिश्चितता रहेको उहाँले जानकारी दिनुभयो ।

“हाल आफूहरु संविधानको धारा पारितको चरणमा रहेकाले समयको चाँजोपाँजो मिलाएर परिस्थिति र अनुकूलता समेतको विचार गरी संविधान जारी भएको अवसर कूटनीतिक माध्यमबाट विदेशी अतिथिलाई निमन्त्रणा गरिने छ” परराष्ट्र मन्त्री पाण्डेले भन्नुभयो ।

नेपाली जनतामा सार्वभौमिकताको सुनिश्चितता गर्ने, समृद्धिमा जाने, मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध कायम गर्ने र मित्रताको डोरीलाई कसिलो तुल्याउने गरी जारी हुन लागेको संविधानप्रति सबैको सकारात्मक धारणा रहेको बताउनुभयो ।

नयाँ संविधानले जनताका कति अधिकार केन्द्र, प्रदेश र स्थानीय तहमा रहने भन्ने विषय स्पष्ट गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र नेपाली जनतालाई सार्वभौम तुल्याउने मामिलामा नयाँ संविधान प्रभावकारी हुनेछ ।”

नयाँ संविधान घोषणा भएसँगै एउटा राजनीतिक युग र पद्धतिको अन्त्य भई नयाँ पद्धतिलाई संस्थागत एवम् सुनिश्चित गर्ने बताउँदै परराष्ट्र मन्त्री पाण्डेले अब नेपाल सधैँभरि पछाडि रहने होइन, समृद्धिको बाटोमा अगाडि गएर विश्वमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधान घोषणा भएपछि आन्दोलनको उपलब्धिलाई संस्थागत गरेर शान्तिलाई सुनिश्चितता गर्ने, विकासलाई अगाडि बढाउने र समृद्धिको बाटोमा मुलुकलाई लैजाने काम हुनेछ ।” रासस