१० कार्तिक २०८३, मंगलबार

एड्माएर नेपालको पुनः निर्माणको दिन गन्ती कार्यक्रम सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

admiyarकाठमाडौं, २९ भदौ । बैशाख १२ को महाभूकम्पले ध्वस्त पारेका ऐतिहासिक महत्व बोकेका नेपालका साँस्कृतिक धरोहरहरु पुनः निर्माणका लागि सरोकारवाला निकायहरुलाई दबाव दिने उद्देश्यका साथ एड्माएर नेपालले हालै काठमाडौंको हनुमानढोका (कालभैरव मन्दिर पछाडि) एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पुनः निर्माणको दिन गन्ती नाम दिइएको उक्त अन्र्तक्रिया कार्यक्रममा प्रमुख वक्ताहरुको रुपमा राष्ट्रिय योजना आयोगका सदस्य एवं अर्थविद् डा. चन्द्रमणि अधिकारी, पुरातत्व विभागका उपसचिव दामोदर गौतम, काडमाडौं महानगरपालिका संस्कृति तथा पर्यटन पुनः निर्माण विभागका प्रमुख नारन बाबु भट्टराई र यूनेस्को काठमाडौंकी योजना प्रबन्धक नभा थापा लगायत प्रमुख अतिथिहरु एवं स्थानीय बासिन्दाहरुकोे उपस्थिति थियो ।

कार्यक्रममा एड्माएर नेपालकी अध्यक्ष, नीता पौडेलले उक्त अन्र्तक्रिया कार्यक्रमबाट निस्कने निष्कर्षले सरोकारवाला पक्षलाई छिटो भन्दा छिटो काम सम्पन्न गर्न अवश्य पनि दबाब दिनेछ भन्ने कुरामा आफूहरु आशावादी रहेको जानकारी गराउनुभयो ।

विश्वकिर्तिमानी सञ्चारकर्मी एवं एड्माएर नेपालका उपाध्यक्ष रवि लामिछानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रस्तोताले पुनः निमार्णको दिन गन्ती कहाँसम्म पुगेको छ भन्ने पहिलो जिज्ञासा सहित कार्यक्रमको शुरुवात गर्नुभएको थियो । जसको प्रतिउत्तरमा राष्ट्रिय योजना आयोगका प्रमुखले नेपालका यी साँस्कृतिक सम्पदाहरु हाम्रा लागि अमूल्य भएको र यसको सम्बन्ध सिधै पर्यटन क्षेत्रसँग जोडिएको हुँदा सरकार यस विषयप्रति गम्भीर भएको र पुनः निर्माण कार्यलाई सकेसम्म तीव्र पार्नका निमित्त विभिन्न योजनाअनुरुप अघि बढीरहेको जानकारी गराउनुभयो । यसैक्रममा उहाँले हालको बजेटमा ८१९ अर्बमध्ये ९१ अर्ब पुनः निर्माणकै लागि छुट्याएको समेत जानकारी गराउनु भएको थियो ।

यसै विषयमा काठमाडौं महानगरपालिका संस्कृति तथा पर्यटन पुनः निर्माण विभागका प्रमुख भट्टराइ ले पनि राष्ट्रिय योजना आयोग, पुरातत्व विभाग र आफ्नो विभाग यस विषयप्रति सहकार्य गरिरहेको र पुनः निर्माणका लागि एक छुट्टै समिति पनि गठन गरिसकेको जानकारी गराउनुभयो ।

कार्यक्रमकै बीचमा स्थानीय युथ मोबिलाइजर र इमेज युथ क्लबका प्रतिनिधिहरुले विश्व सम्पदा सूचिमा समावेश गरिएको हनुमानढोका क्षेत्रको सामाजिक, साँस्कृतिक र पुरातात्विक महत्व रहेतापनि सरकारले पुनः निर्माणको काममा ढिलासुस्ती गरेको आरोप लगाएका थिए । उनीहरुले आफूले पहिले पनि सरकारी मातहतका विशिष्ट व्यक्तित्वहरुबाट विभिन्न आश्वासनहरु सुनिसकेको तर त्यका लागि कुनै पहल नभएकोमा आक्रोश समेत व्यक्त गरेका थिए । साथै उनीहरु सरोकारवाला निकायहरु र उपस्थित प्रतिनिधिहरुलाई अब परिस्थिति अनूकुल होस् वा नहोस् मनस्थिति अनुकूल पारेर मात्र प्रतिबद्धता जाहेर गर्न र पुनः निर्माणका लागि स्थानीय बासीहरुलाई नै संलग्न गराउन सुझाव समेत दिएका थिए ।

एड्माएर नेपाल राष्ट्रिय संस्कृति, पर्यटन, वातावरण तथा अन्य सामाजिक कार्यप्रति कटिबद्ध गैर नाफामूलक संस्था हो । सामाजिक हित र जन चासोका विषयहरुप्रति सन्देश फैलाउने र समाजमा परिवर्तन ल्याउने स्पष्ट दृष्टिकोण र अटुट विश्वासका साथ यस संस्थाको स्थापना गरिएको हो ।

यस संस्थाले “गौतम बुद्घ नेपालमा जन्मेका हुन्” भन्ने मूल सन्देशलाई विश्वजगत्मा प्रत्याभूत गरि विश्व शान्तिका लागि त्यस अभियान अन्तर्गत १० लाख हस्ताक्षर संकलन गरि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनलाई बुझाउनुका साथै भूकम्प पीडितहरुको सहयोगार्थ एक अभियान, विभिन्न विद्यालयहरुमा वाटर प्यूरिफायर वितरण, मन्दिर तथा सार्वजनिक स्थलहरुको सरफाई जस्ता कार्यहरु गर्दै आइरहेको छ ।