५ कार्तिक २०८३, बिहिबार

देश फर्कन नचाहनेलाई अमेरिका, क्यानडा र युरोपमा पुनःस्थापित गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IOMकाठमाडौं, २८ भदौ । सरकारले दुई देशका शरणार्थीलाई मात्र नेपालमा मान्यता दिएको छ । तर, अन्य नौ देशका नागरिक शरणार्थीको नाममा नेपालमा बस्दै आएका छन् ।

गृह मन्त्रालयका अनुसार विभिन्न नौ देशका चार सय ८७ जना शरणार्थी नेपालमा बस्दै आएका छन् ।

अन्य ३४ जनाले शरणार्थी बन्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) मा शरण खोजेका छन् ।

युएनएचसिआरले गृह मन्त्रालयमा दुई साताअघि दिएको विवरणअनुसार नेपालमा सबैभन्दा धेरै पाकिस्तानी शरणार्थी बस्दै आएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

हाल दुई सय ६३ जना पाकिस्तानी शरणार्थी छन् । त्यस्तै, म्यानमार, अफगानिस्तान, श्रीलंका, सोमालिया, इरान, इराक, कंगो र बंगलादेशका नागरिक शरणार्थी छन् ।

म्यानमारका एक सय ५५, अफगानिस्तानका ५५, श्रीलंकाका २२, सोमालियाका १७, इरानका ६, बंगलादेशका चार, इराकका तीन, कंगोका दुईजना शरणार्थी नेपालमा बस्दै आएका छन् ।

उनीहरूलाई युएनएचसिआरले नै पाल्दै आएको छ । नेपाल सरकारले उनीहरूलाई शरणार्थीसम्बन्धी कुनै कागजपत्र नदिए पनि युएनएचसिआरले ‘सहरी शरणार्थी’को मान्यता दिएर तेस्रो मुलुकमा पठाउँदै आएको छ ।

विभिन्न कारणले आफ्नो देशमा बस्न नसकेको भन्दै उनीहरू नेपाल आएर युएनएचसिआरको शरणमा गएका हुन् ।

प्रारम्भिक छानबिनपछि केहीलाई उनीहरूकै देश पठाउने गरिएको छ भने आफ्नो देश फर्कन नचाहनेलाई अमेरिका, क्यानडा तथा युरोपियन देशमा पुनःस्थापित गरिँदै आएको छ ।