– प्रकाशचन्द्र भट्टराई
तनहुँ, २५ भदौ । व्यास नपा–७ मानहुँ घर भई व्यास नपा-१ मा बस्दै आएका १६ बर्षीय पुर्णबहादुर आलेको मृत्यु घटनाको प्रभावकारी अनुसन्धान गर्न माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार बेलुका दमौलीमा झडप भएको छ ।
नारा लगाउँदै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका प्रर्दशनकारी मध्येबाट प्रहरी कार्यालयमा ढुङ्गा हानिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले चार दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो । अहिले पनि झडप जारी छ । प्रर्दशनकारीले पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । काठमाडौ्र तर्फबाट आएको सवारी साधन घाँसिकुवामा र पोखरातर्फबाट आएको सवारी साधन चापाघाटमा नै रोकिएका छन् । प्रदर्शनकारीको तर्फबाट प्रहरीमाथि लगातार ढुङ्गा हानिएपछि र रात पर्दै गएपछि प्रहरी पछाडी हटी जिल्ला प्रहरी कार्यालयको मुलगेटमा केन्द्रित भएका छन् ।

यसैबीच प्रहरीले चलाएको गोली लागि ४ जना घाईते भएका छन् । घाईते हुनेमा व्यास १ का रोशन चन्द रहेको र बाँकीको पहिचान खुलेको छैन । त्यस्तै अश्रुग्याँसको चोटले व्यास १० की ८० बर्षीया एक बृद्धा र ३ दिनको शिशु गम्भिर घाईते भएका छन् । घरको झ्यालमा सुताएर राखेको अवस्थामा घरभित्रै अश्रुग्याँस छिरेपछि उनी घाईते भएका हुन् । उनको व्यास १० स्थित दाहाल अस्पतालमा उपचार गरियो । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
गत मंगलबारदेखी निरन्तर प्रर्दशन गर्दै आएका प्रदर्शनकारीले शुक्रबार विहानैबाट प्रर्दशन गरेका थिए । करिब ३ हजारको संख्यामा रहेका प्रदर्शनकारीले दिउँसै पृथ्वीराजमार्ग अवरुद्ध गरि हत्याको प्रभावकारी अनुसन्धान हुनुपर्ने र हत्यारालाई कारवाही हुनुपर्ने माग गरेका छन् । मृतकको दमौली अस्पतालमा पोष्टमार्टम गरिएपनि मृतकका आफन्तले पोष्टमार्टम रिर्पाेट स्वीकार नगर्ने बताएका छन् । उनीहरुले अभियुक्तसँग मिलेर पोष्टमार्टम रिर्पाेट तयार गरिएको आरोप लगाएका छन् । पोष्टमार्टम रिर्पाेटमा श्वास प्रश्वासमा अवरोध आएको कारण मृत्यु भएको उल्लेख भएको बताईएको छ ।
आलेको शव सोमबार आदिकवि भानुभक्त क्याम्पस परिसरको खयरको रुपमा झुण्डिएको अवस्थामा भेटिएको थियो । शवको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ । शरिरका विभन्नि भागमा चोटपटक लागेको छ ।
आलेको एक युवतीसँग प्रेम सम्बन्ध रहेको र सोही कारण नै हत्या भएको हुन सक्ने आफन्तहरुले शंका गरेका छन् । मृतकका परिवारले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उक्त युवती विरुद्ध किटानी जाहेरी दिएको र प्रहरीले मंगलबार नै आरोपित युवती र उनकी दिदीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको छ । मृतकका आफन्त र मानहुँबासीहरुले मंगलबादेखी विभिन्नखाले आन्दोलन गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सो घटनालाई सामान्य भएको भन्दै प्रदर्शनकारीको माग सम्बोधन गर्ने बताए । उनले प्रहरीले संयमता अपनाएको कारण कुनै अप्रिय घटना नभएको बताए ।



















प्रतिक्रिया