काठमाडौं, २३ भदौ । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले थारु र मधेसी समुदायका माग सम्बोधन गरेर मात्रै संविधान जारी गर्नुपर्ने बताएको छ ।
बुधबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पार्टी कार्यालय सानेपामा बसेको मोर्चाको बैठकले सबै पक्षको समस्या समाधानका लागि दश दिन संविधानसभा स्थगन गर्न सरकारसँग माग गरेको हो । बैठकबाट बाहिरिएका मोर्चाका नेता जितेन्द्र देवले भने-‘थारु र मधेसी समुदायका माग सम्बोधनका लागि १० दिन संविधान निर्माणको कार्यलाई रोकेर अगाडि बढौं, अन्यथा देशमा द्वन्द्वको अवस्था सिर्जना हुन्छ ।’
प्रमुख दलहरुले यथास्थितीमा थारु र मधेसी समुदायका माग सम्बोधन नगरीकनै संविधान जारी गरे त्यसपछि उत्पन्न हुने परिणामले देशमा ठूलो गृहयुद्धमा फस्ने मोर्चाले चेतावनी दिएको छ । साथै उक्त परिणामको जिम्मेवारी एमाले अध्यक्ष केपी ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले लिनुपर्ने मोर्चाका नेता जितेन्द्र देवले पत्रकारहरुलाई बताए ।
देश राजनीतिक नियन्त्रणमा रहेको बताउँदै मोर्चाले सहमति र सहकार्यबाटै राजनीतिक दलहरुले संविधान जारी गर्नुपर्ने बताएको छ । ‘यदि थारु र मधेसी समुदायको माग सम्बोधनै नगरी संविधान जारी गरे हामी ओली र देउवालाई पनि छाड्दैनौं ।’ मोर्चाले भनेको छ । देउवाले सुदूरपश्चिम र ओलीले पूर्वका जिल्ला टुक्रयाउन नदिएपछि मोर्चाले त्यसतर्फ संकेत गर्दै यस्तो चेतावनी दिएको हो ।












प्रतिक्रिया