भैरहवा, २३ भदौ । कैलालीको टीकापुरमा भएको प्रहरी हत्या अभियोगमा प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई पक्राउ गरेको छ ।
मधेस केन्दित दलहरुले आज भैरहवामा गर्न लागेको विरोध सभाको पूर्व सन्ध्यामा रुपन्देही प्रहरीले थारु नेता लक्ष्मण थारुलाई पक्राउ गरेको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य समेत रहेका थारुलाई प्रहरीले थारु लोकतान्त्रिकको रुपन्देही कार्यालय रहेको चन्द्रिका भवन लुम्बिनी रोडबाट नियन्त्रणमा लिएको हो ।
थारुलाई कैलाली घटनाको विषयमा छानविन गर्न कैलाली जिल्ला प्रहरी कार्यालयको अनुरोधपत्र अनुसार पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बताए ।
पूर्व माओवादी लडाकू कमाण्डरसमेत रहेका थारु फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरी थारु आन्दोलनमा समग्र कैलाली जिल्लाको कमाण्ड सम्हालेका थिए ।
यसैैबीच रुपन्देही सुरक्षा समितिले आज दिउंसो भैरहवाको मायादेवी चौंकमा हुने वृहत आमसभालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आन्दोलनकारी नेताहरुलाई आग्रह गरेको छ । विगत २० दिनदेखी भैरहवामा स्थानिय प्रशासनले निषेधाज्ञा लगाउदैं आएको छ । तर आन्दोलरत पक्षले भैरहवा पूर्व धकधईबाट हजारौंको संख्यामा र भैरहवा पश्चिम मर्चवार लुम्बिनी क्षेत्रबाट हजारौ मानिसहरु विरोध सभामा आउन ठाउ ठाउमा जम्मा भइरहेको बुझिएको छ ।
आमसभालाई तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघिय समाजवादी फोरम पार्टिका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस सद्भावना पार्टिका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र यादव लगायतले सम्बोधन गर्ने बुझिएको छ । विरोध सभालाई लक्षित गरि स्थानिय प्रसासनले अहिले विहानैदेखी भैरहवामा उच्च सुरक्षा सर्तकता अपनाएको छ ।













प्रतिक्रिया