खोटाङ, २२ भदौ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणको नौ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा लगानीमा विमानस्थल कालोपत्रे हुने भएको हो ।
सञ्चालनमा आएको लामो समयपछि कालोपत्र गर्न लागिएको विमानस्थलका लागि ठेक्का आह्वान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष डिटेल सर्भे गरिएको विमानस्थल कालोपत्रका लागि यस वर्ष रु पाँच करोड ५० लाख बजेट छुट्याइएको छ ।
विसं २०५२ देखि निर्माण कार्य थालेर २०५६ सालदेखि उडान सुरु गरिएको विमानस्थल अहिले अवरुद्ध छ । नेपाल एयरलायन्सले हप्ताको दुई पटक थामखर्क–काठमाडौँ र थामखर्क–विराटनगर उडान भर्दै आएको विमानस्थल वर्षात्का कारण गत असार १५ गतेदेखि अवरुद्ध भएको छ ।
वर्षात्को समयमा हरेक वर्ष विमानस्थल अवरुद्ध हुँदा दक्षिणी क्षेत्रका हजारौँ जनता समस्यामा पर्ने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन कालोपत्रको पहल गरिएको सभासद् विशाल भट्टराईले बताउनुभयो । “अन्य यातायातको सुविधा नपुगेको दक्षिणी क्षेत्रमा भएको एउटा विमानस्थल पनि वर्षात्को समयमा अवरुद्ध हुन्छ ।” उहाँले भन्नुभयो – “यसले गर्दा जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, त्यसैले उनीहरुको उद्धारका लागि मन्त्रीज्यूसँगको समन्वयमा कालोपत्र गर्न लागिएको हो ।”
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने २० गाविसका साथै भोजपुरका केही गाविसका सेवाग्राहीका लागि उपयुक्त मानिएको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित छन् । कालोपत्र गरिएपछि बाह्रै महिना विमान उडान÷अवतरण हुने भएकाले स्थानीयवासी हर्षित भएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्क, खानीडाँडा र लामीडाँडा गरी तीनवटा विमानस्थल सञ्चालनमा छन् । थामखर्क क्षेत्र नं १ मा पर्छ भने खानीडाँडा र लामीडाँडा– २ नं क्षेत्रमा पर्छन् ।
सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल भर्खरै कालोपत्र भएको छ । उक्त विमानस्थलमा प्रत्येक दिन उडान हुँदै आएको छ । रासस















प्रतिक्रिया