३१ आश्विन २०८३, शनिबार

दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सरकारलाई सांसदको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, २१ भदौ । नजिकिँदो चाडपर्व तथा तराई मधेसको निरन्तरको आमहडताललाई ख्याल गरी दैनिक उपभोगका वस्तुलाई सहज बनाउन सांसदहरुले सरकारलाई आग्रह गर्नुभएको छ ।

उहाँहरुले नुनदेखि सुनसम्म अर्थात् खाद्यान्न, औषधि, लत्ताकपडा, विद्युतीय सामग्री, तरकारी, फलफूल, भाँडाकुँडा, दुग्ध पदार्थ आदि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुन नसकेको अवस्था तथा उड्नेदेखि गुड्नेसम्म व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्वलाई ध्यान दिई सरकारले दैनिक आपूर्तिलाई सहज बनाउन जोड दिएका हुन् ।

व्यवस्थापिका–संसद् उद्योग, वाणिज्य तथा उपभोक्ता समितिको आजको बैठकमा सांसदहरुले बन्द हडतालका कारण हाल दैनिक उपाभोगका वस्तुको अभाव हुन थालेको गुनासो आएको हुँदा यसलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

बैठकमा सांसद कञ्जनवादे श्रेष्ठले उपत्यकामा रहेका १३० वटा पेट्रोलपम्पमा तेल तथा बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेको भन्दै यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भन्नुभयो ।

सांसद चन्द्र महर्जनले तराई मधेस निरन्तरको बन्दको अवस्थामा पनि नेपाल आयल निगमले विशेष सुरक्षाका माध्यमबाट तेल आपूर्ति गरी उपत्यकालगायत अन्य क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुन नदिनु सराहनीय काम भएको बताउनुभयो ।

सांसद महालक्ष्मी उपाध्यायले बजारमा खान पकाउने ग्यास सहजरुपमा प्राप्त गर्न नसकेको र यसको बिक्री वितरण गर्नेहरुले कालोबजारी गर्न सुरु गरेको आरोप लगाउनुभयो ।

सांसद शान्ता मानवीले दैनिक उपभोगका वस्तु दाल, चामल, चिनीको मूल्य वृद्धि हुन थालेको बताउनुभयो ।

सो अवसरमा सांसदहरु नारायणबहादुर कार्की, सीताराम भण्डारी, राज्यलक्ष्मी श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, सुरेन्द्रकुमार सैजवाललगायतले नजिकिँदो चाडपर्वलाई ध्यान दिई दैनिक खाद्य पदार्थ तथा पेट्रोलियम पदार्थलाई सहज बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

बैठकमा उपस्थित वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले खाद्यान्न तथा पेट्रोलियम पदार्थको यथेष्टमा मात्रामा मौज्दात रहेको जानकारी दिनुभयो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहचिव शम्भु घिमिरेले नौ महिनालाई पुग्ने नुन, तीन महिनालाई पुग्ने चिनी तथा चार महिनालाई पुग्ने खाद्य पदार्थ मौज्दात रहेको बैठकमा जानकारी दिनुभएको थियो । रासस