
काठमाडौं, १५ भदौ । संघीय राज्यको सिमाङ्कनलाई लिएर असन्तुष्ट थारु समुदायले जारी आफूहरूको आन्दोलनको आज समीक्षा गर्दैछन् ।
काठमाडौंमा बस्ने थारुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय परिचालन समितिको बैठकले आन्दोलनका विषयमा समीक्षा र थप प्रभावकारी बनाउने विषयमा छलफल हुने थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।
सरकारले दुई पटक पठाएको वार्ताको पत्रले थारुले उठाएका मागलाई सम्बोधन नगरेकाले आन्दोलन थप सशक्त बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।
‘हामी वार्ता विरोधी होइनौँ’, उहाँले भन्नुभयो, ‘सरकारले वार्ताका लागि प्रारम्भीक तयारी पनि गरेन । सरकारलाई माग पूरा गराउन दवाव दिने उदेश्यले तराईमा जारी आन्दोलनलाई थप सशक्त बनाउने तयारीमा छौँ ।’
संघर्ष समितिको बैठकले तराईमा आज मध्यरातदेखि सक्किन थालेको बन्दको कार्यक्रमलाई लम्बाउने र अन्य कार्यक्रमहरू पनि थप गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले पनि सरकारले थारु आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
उहाँले आफूहरू वार्ताका लागि तयार हुँदा पनि सरकारले न्युनतम शर्त पूरा नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।












प्रतिक्रिया