काठमाडौं, १४ भदौ । दोस्रो ठूलो सत्तारुढ दल एमालेले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्दै शान्तिसुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ ।
एमालेले विभिन्न समूहद्वारा अधिकारका नाममा गरिएका आन्दोलनका क्रममा पार्टी कार्यालयमा आक्रमण गर्ने कार्यको निन्दा एवम् भर्त्सना गर्दै कारबाहीको माग गरेको छ ।
सिंहदरबारमा आज बसेको स्थायी समिति बैठकले मधेशी मोर्चाका कार्यकर्ताहरूले तराईका जिल्लाहरूमा पार्टी कार्यालयहरूमा आक्रमण गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेको हो ।
बैठकले यस्ता कार्य नगर्न सबैमा अपील गरेको छ । एमालेले मुलुकको सम्बेदनशीलतालाई ध्यानमा राखेर सामाजिक सद्भाव बनाइ राख्न पनि अपील गरेको छ ।
एमालेले मुलुकमा सद्भाव कायम गर्नका लागि मुलुकभरि शान्ति र्याली तथा कार्यक्रमहरू गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
एमालेले नयाँ संविधान निर्माणका क्रममा विभिन्न समूह र दलहरूले अघि सारेका मागका विषयमा पनि छलफल भएको एक नेताले बताए ।
मधेशी मोर्चाले माग गरे जस्तो संविधान निर्माणको प्रक्रिया रोकेर वार्ता गर्न नसकिने एमालेले जनाएको छ ।
असन्तुष्ट पक्षसँग वार्ता गरेर संविधान भदौ महिनभित्र जारी गर्ने एमालेको धारणा छ । त्यसका लागि वार्ता र संविधान निर्माणको कार्यलाई साथसाथै अघि बढाउने उल्लेख गरेको छ ।
बैठकमा संविधानको सैद्धान्तिक छलफल सक्किएको नयाँ संविधानको मस्यौदामा संशोधनका लागि आवश्यक पर्ने विषयमा पनि छलफल भएको बुझिएको छ । एमालेले केही प्रावधानमा पार्टीगत रुपमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
यसैबीच, संसद सचिवालयमा संविधानको विधेयकमाथि तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
यो समाचार तयार पार्दासम्म राप्रपाका सभासद दीपक बोहरा, सभासद प्रेमबहादुर सिंह र सभासद शिवलाल थापाको समूहले अलग अलग संशोधन प्रस्ताव दर्ता गराएको हो ।












प्रतिक्रिया