काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता तथा सभासद शेरबहादुर देउवाले शुक्रबार आफ्नो पालो हुँदाहुँदै पनि संविधानसभामा सम्बोधन गर्नुभएन ।
सबै सभासदहरूलाई सरह संविधानसभा अध्यक्ष नेम्वाङले पाँच मिनटको समय दिएपछि रिसाउनु भएका नेता देउवाले शुक्रबार संविधानसभामा पालो आउँदा पनि भाषण गर्नुभएन ।
कांग्रेस सभासद कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिले पेश गरेको नयाँ संविधानको विधेयकमाथि संविधानसभामा सैद्धान्तिक छलफल जारी छ ।
सबै सभासद्हरूलाई सरह पाँच मिनट देउवालाई पनि दिएपछि उहाँ रिसाउनु भएको हो । देउवालाई आफ्नै पार्टीका सभासदहरूले तपाई त बैठकको सुरुमै बोल्नु पर्ने, धेरै सभासद रहेका बेला बोल्दा प्रभावकारी हुन्छ भनेर उचालेका थिए ।
उहाँले शुक्रबार बोल्न पनि तयार हुनु भएको थियो । तर खै किन हो नेता देउवाले पछि शुक्रबार संविधानसभामा बोल्न मान्नु भएन ।
देउवा पाँच मिनटको समयमा बोल्न नमानेको सूचना पाएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले उहाँलाई शनिबार १५ मिनट दिएर बोल्ने व्यवस्था मिलाउनु भएको छ ।
देउवाले अन्य सभासद्भन्दा दश मिनट धेरै बोल्न पाउनु हुनेछ । उहाँलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा संविधानसभा अध्यक्ष नेम्वाङले १५ मिनट बोल्ने समय दिन लाग्नु भएको कांग्रेस उच्च स्रोतको भनाइ छ ।
नयाँ संविधानको विधेयकमाथिको छलफलमा पाँच मिनट मात्रै बोल्न मिल्ने गरेर संविधानसभामा व्यवस्था मिलाइएको छ । पाँच मिनटभन्दा बढी बोल्ने प्रयास गर्दा माइक आफै बन्द हुने गरेको सभासदहरूको भनाइ छ ।
‘मलाई पाँच मिनट मात्रै बोल्न दिने ?’, देउवाको भनाइ उदृत गर्दै कांग्रेसका एक सभासदले भने, ‘मैले अरु सभासद्ले भन्दा धेरै बोल्न पाउनुपर्छ । मलाई पाँच मिनट पुग्दैन ।’
देउवाको पीडा बुझेपछि नेम्वाङले पूर्व प्रधानमन्त्रीको हैसियतमा शनिबार पहिलो वक्ताका रुपमा १५ मिनट बोल्ने व्यवस्था मिलाउनु भएको छ ।
शनिबार संविधानसभाको बैठक अलि ढिला गरेर बस्दैछ । जनै पूर्णिमा रहेकाले सभामुखले संविधानसभा बैठक ढिला गरेर बोलाउनुभएको छ ।












प्रतिक्रिया