काठमाडौं, ३० साउन । सुदूरपश्चिमका तीन सामाजिक संस्थाले केही मधेसवादी नेताहरुले कैलालीमा पुगेर दिएको विखण्डनकारी अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।
शनिबार राजधानीमा राष्ट्रिय सरोकार मञ्च नेपाल, सुदूरपश्चिम पत्रकार समाज र सुन्दर सुदूरपश्चिम बिकास अभियानले संयुक्त विज्ञप्ती निकाल्दै मधेसी नेताहरु उपेन्द्र यादव, अमरेश सिंह र राजेन्द्र महतोमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
मञ्चका अध्यक्ष सोमबिक्रम सिंह, समाजका महासचिव खगेन्द्र भण्डारी र विकास अभियानका महासचिव किशोर खड्काद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा यस्ता बिखण्डनकारीलाई बहिष्कार गरी सामाजिक सजाय दिन पनि आमजनतासँग आग्रह गरिएको छ ।
‘देशले नयाँ संविधान पाउने क्रममा सिमाकंन, संघीयता र धर्मको टुंगोमा पुर्याउँदै गर्दा मधेसमुलका केही नेताहरुले कैलालीमा त्यहाँका थारु र पहाडी बासिन्दाबीच द्वन्द्व गराउने गरी दिएका अभिब्यक्तिको भ्रत्सना गर्दछौं’, विज्ञप्तीमा भनिएको छ, ‘थारुहरुको सभामा कथित मधेशी नेता उपेन्द्र यादव, अमरेश कुमार सिंह र राजेन्द्र महतोले थारु र अन्य सम्पूर्ण सुदूरपश्चिमेलीको एकतामा खलल पुग्ने गरी अभिव्यक्ति दिएकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’
सुदूरपश्चिममा जातीय, सामाजिक र सांस्कृतिक सद्भाव खल्बल्याउने गरी दिएको अभिब्यक्तिबारे ती मधेसी नेताहरुले त्यसक्षेत्रका जनतासँग माफी माग्न पनि उनीहरुले माग गरेका छन् ।
‘उनीहरुले सुदूरपश्चिममै गएर माफी नमागुञ्जेल सुदूरपश्चिमका जनताले बहिष्कार गर्नेछन्’, विज्ञप्तीमा भनिएको छ, ‘बिखण्डनकारी, जातीय द्वन्द्व सृजना गराउने दलालका रुपमा लिएर सुदूरपश्चिममा प्रवेश गर्न दिइने छैन ।’ समाजिक संस्थाहरुले तीनै नेतालाई तत्काल कारवाही गर्न सरकारसँग माग समेत गरेका छन् ।
















प्रतिक्रिया