नवलपरासी, ३० साउन । आन्दोलनमा उत्रिएका मधेसवादी दलका कार्यकर्ताले शुक्रबार राति नेकपा एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा बन्द आह्वानकर्ताहरुले ढुंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन् । ११ वटा मधेसी पार्टी, अखण्ड नवलपरासी, थारु कल्याणकारी सभाका कार्यकर्ताले परासी बजारमा रहेको एमाले कार्यालयमा ढुंगा प्रहार तोडफोड गरेको स्थानीय प्रहरीले जनाएको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले तोडफोडको प्रयास भएपनि एमाले जिल्ला पार्टी कार्यालयमा प्रहरी भएकाले ठूलो क्षति नभएको बताए ।
बन्दकर्ताहरुले कार्यालयमा आगो लगाउने प्रयास पनि गरेका थिए तर, प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि उनीहरु तितरवितर भएका थिए । एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कायरतापूर्ण तरिकाबाट एमाले पार्टी कार्यालयमा आक्रमण भएको प्रतिक्रिया दिए ।
यसैबीच जिल्ला पार्टी कार्यालयमा आक्रमण भएपछि केन्द्रीय कमिटीले आपत्ति जनाएको छ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसवादी दलका कार्यकर्ताबाट भएको तोडफोड भत्सर्ना गर्दै दोषी कारवाही हुनुपर्ने बताए ।















प्रतिक्रिया