काठमाडौँ, २३ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई संविधानमा समावेश गराउन प्रमुख राजनीतिक दलका शीर्ष नेता अहोरात्र रुपमा जुटिरहनुभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “संविधानलाई अन्तिम रुप दिन शीर्ष नेता गम्भीरतापूर्वक लागिरहनुभएको छ, अब छिट्टै सार्थक परिणाम निस्कन्छ ।”
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा स्थापित “आदिवासी जनजाति पुरस्कार २०७२” आज यहाँ वितरण गर्दै अध्यक्ष नेम्वाङले सबै वर्ग, क्षेत्र, समुदायको आफ्नो अपनत्व हुने अग्रगामी संविधान आउने विश्वास व्यक्त गर्नुभयो ।
“संविधानले पहिचान र समावेशीतालाई बिर्सने छैन, यसमा तपाईहरु ढुक्क हुनुहोस्”, अध्यक्ष नेम्वाङले भन्नुभयो ।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले पहिचान र समावेशीतासहितको संविधान नआएमा महासङ्घलाई मान्य हुँदैन भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आदिवासी जनजाति पत्रकारले उठान गरेका सञ्चार नीतिलाई समावेशी बनाउनुपर्ने मागप्रति महासङ्घको साथ र सहयोग रहनेछ भन्नुभयो । फोनिजका अध्यक्ष दण्ड गुरुङ र महासचिव गजुरधन राईले नयाँ बन्न लागेको सञ्चार नीतिलाई समावेशी बनाउनुपर्छ भन्नुभयो ।












प्रतिक्रिया