८ कार्तिक २०८३, आइतबार

सार्वजनिक सुनुवाइ बहिष्कार गरी जुम्ला जिविसमा तालाबन्दी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talabandiजुम्ला, ८ साउन । जिल्लाका प्रमुखहरुको अनुपस्थितिमा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको भन्दै जुम्लाका सम्पूर्ण राजनीतिक दलहरुले जिल्ला विकास समिति जुम्लामा बिहीबार बेलुका तालाबन्दी गरेका छन् ।

आव ०७१÷७२ मा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुद्वारा गरिएका कार्यक्रमको प्रगतिको समीक्षा तथा सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेल र स्थानीय विकास अधिकारी ईश्वरकुमार गिरीले जिल्ला छोडेको भन्दै राजनीतिक दलहरुले प्रेस विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेका हुन् ।

दलहरुको प्रेस विज्ञप्तिमा सार्वजनिक सुनुवाइ जस्तो महत्वपूर्ण कार्यक्रममा आएका विभिन्न किसिमको गुनासा, सुझाव र टिप्पणीको सुनुवाइ तथा सम्बोधन गर्ने निकायका प्रमुखहरुले नै झारा टार्न सहायक कर्मचारीहरुलाई मात्र उपस्थित गराइएको र जनप्रतिनिधिविहीन समयको फाइदा उठाइएको आरोप लगाइएको छ ।

विभिन्न विकासे कार्यक्रममा दलहरुलाई किनाराको साक्षी राख्ने र कार्यान्वयनको तहमा छायाँ पार्न खोजिएकाले त्यसको विरोधमा प्रजिअ र स्थानीय विकास अधिकारी जिल्लामा नआउन्जेल जिविसमा तालाबन्दी गरिएको एमाओवादी जुम्लाका उपाध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभयो । जिविस तथा विषयगत कार्यालयहरुले कागजी रुपमा आर्थिक तथा वित्तीय प्रगति ९० देखि शतप्रतिशत देखाउन खोजेको उहाँको भनाइ छ ।
जिविसमा तालाबन्दी भएपछि त्यसलाई खुलाउन अहिले बिहान ९ बजेदेखि दलहरुसँग आकस्मिक बैठक बसेको योजना तथा प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । रासस