महेन्द्रनगर, ८ साउन । कञ्चनपुरमा बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव माओवादीका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
दुई महिना अघि भारत–चिनबीच भएको नेपालको लिपुलेक व्यपारिक नाका बनाउने सहमति खारेजीको माग राख्दै विप्लव माओवादीले आव्हान गरेको बन्दलाई सफल पार्न बन्द गराउँदै हिँडेका कार्यकर्तालाई पक्राउ गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।
बन्दका कारण आज बिहानै देखि महेन्द्रनगर बसपार्क देखि विभिन्न स्थानका लागि जाने बस चल्न नसक्दा भारतबाट मजदुरी गरि आएका नेपालीहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् । आज बिहान महेन्द्रनगर बजारमा बन्द गराउदै हिँडेका ६ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख किशोर कुमार दाहालले जबरजस्ती बन्द गराउनेहरुmलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो । नेकपा माओवादी कञ्चनपुरका इन्चार्ज डिडि पाण्डेका अनुसार शान्तिपूर्ण आन्दोलनमा प्रहरीले आफ्ना जिल्ला सदस्य राजेन्द्र विष्ट, बिरेन्द्र लुहरा, विक्रम भण्डारी, पदम जोशी, मनोज भट्ट र गगन धामीलाई नियन्त्रणमा लिएको छ ।
माओवादीको बन्दका कारण कञ्चनपुरका बजार समेत बन्द रहेका छन् । यस्तै बन्दका कारण शिक्षण संस्था समेत बन्द हुँदा विद्यार्थीहरु विद्यालयबाट फर्किएका छन् । माओवादीले सरकारले आफ्नो राष्ट्रियता र शान्तिपूर्ण आन्दोलनमा दमन गरेको गरेको भन्दै सरकारको बिरुद्धमा नाराबाजी गरिरहेका छन् । ‘लिपु लेक हाम्रो हो’, सरकारले लिपु लेक फिर्ता गराउन पहल गर्नुपर्छ ।’भन्दै माओवादीले महेन्द्रनगर बजारमा प्रर्दशन गरिरहेका छन् ।















प्रतिक्रिया