काठमाडौँ । सविना कोइराला सञ्चारक्षेत्रमा क्रियाशील छिन् । रहरै रहरमा सुरु भएको टेलिभिजनकर्म उनको पेसा बनेको छ । एभिन्युज टेलिभिजनबाट सुरु भएको यात्रा न्युज २४ मा रफ्तारमा छ । समाचार वाचनसँगै कार्यक्रम उत्पादनमा संलग्न कोइरालाले सञ्चालन गर्ने ‘आमा’ कार्यक्रम धेरै रुचाइएको टेलिभिजन कार्यक्रममा पर्छ । उनको कार्यक्रम हेरेर धेरै सँगै रोएका छन्, धेरै सँगै हाँसेका छन् ।
कामको चाप कतिको छ ?
छ । समाचार भन्ने, रिपोर्टिङमा जाने, नयाँ कुरा संकलन गर्ने काममै व्यस्त छु ।
समाचारवाचन गर्दा कत्तिको रमाइलो लाग्छ ?
सानैदेखिको चाहना भएर पनि होला, म निर्धक्क भएर पढ्छु रमाइलो लाग्छ ।
समाचारवाचन गर्न के चाहिन्छ ?
शुद्ध र स्पष्ट भाषा र विश्वासका साथ त्यसलाई सम्प्रेषण गर्न सक्ने क्षमता ।
‘लुक’को पनि ठूलो भूमिका हुन्छ भन्छन् नि ?
होला । टेलिभिजनलाई सुहाउँदिलो भए हुन्छ जस्तो लाग्छ मलाई । तर अहिले हरेक टेलिभिजनमा काम गर्न सक्नेभन्दा सो पिसका लागि नै बढी राखिएको जस्तो लाग्छ ।
‘आमा’ कार्यक्रमको रेस्पोन्स कस्तो छ ?
दर्शकहरूले निकै रुचाइरहनुभएको छ । कम समयमा लोकप्रिय भएको कार्यक्रम आमाले हरेकको मन छोएको छ जस्तो लाग्छ । यो नै मेरो सफलता हो । आमाहरूको दुःख सुख पोख्ने भाँडो बनेको छ कार्यक्रम ।
तीता मीठा अनुभव धेरै होलान् नि ?
छन् । धैरै चोटी रोएको छु । सन्तानको यातनाबाट तिरस्कृत भएका आमाको कथा सुन्दा धेरै चोटी आमा भनेको छु । आमाको माया पाएर गद्गद् भएका सन्तानको कुरा सुन्दा रमाएको पनि ।
१२ वर्षको उमेरमा आमा गुमाउनुभयो । अहिले कस्तो लाग्छ ?
साह्रै दुःखद अनुभव हुन्छ, जब कसैले आमा गुमाउँछ । त्यो दिन म सम्झन पनि सक्दिनँ । बाल्यकालमा आमा गुमाउने पीडा कसैले पनि भोग्न नपरोस् जस्तो लाग्छ । आमा आमा नै हुन् । आमाको ममताका अगाडि तौलन सकिने कुनै वस्तु छैन ।
आफ्नो आमालाई कसरी सम्झनु हुन्छ ?

नसम्झिने कुनै क्षण हुँदैन । आमा भइदिएको भए कति भाग्यमानी हुन्थें होला जस्तो लाग्छ । अरुको सन्तान आमाको काखमा बसेर रमाउँदा र बिलौना गरेको देख्दा लोभ लाग्छ । प्रगतिमा रमाउने मेरी आमा, मेरो दुस्खमा आँशु खसाउने मेरी आमा नहुँदा अधुरोपन महसुस हुन्छ ।
आमाले भनेका केही कुरा याद छन् ?
बाल्यकाल नै भएर होला, अधुरो मात्र याद छ । आमाले खाउ, पढ, बैलैमा सुत, धैरै पढ्नु पर्छ भनेका कुराहरू याद आउँछन् ।
दोस्रो आमा (सासूआमा)बाट चैँ कत्तिको माया पाउनुभयो ?
आफ्नो आमाले दुई थप्पड हिर्काए पनि त्यो माया हुन्छ, केही क्षणमा बिर्सिइन्छ । त्यहि थप्पड अरुले हान्दा विष हुन्छ र सधैं गुनासो भइरहन्छ । तर मैलै मेरो सासुबाट आमाको माया धैरै पाएको छु जस्तो लाग्छ । आमाको सहनशीलता ज्यादै लोभलाग्दो छ । मेरो प्रगतिमा धेरै रमाएको देखेको छु ।
तपाइँ चैँ कहिले आमा बन्दै हुनुहुन्छ नि ?
अब चाँडै नै सोच बनाएको छु । मिडियाको काममा बढी व्यस्तता छ । तर अब आमा बन्ने ठूलो रहर लागेको छ । (उनको जीवनबारे गरिएको कुराकानी) दृष्टि साप्ताहिकबाट ।















प्रतिक्रिया