दक्षिण कोरिया। दक्षिण कोरियाको राजधानी सिओल नजिकै नेपालीहरुको जम्काभेट हुने थलो दोङ्ग्देमुन शहरमा हुन लागेको ‘थ्री इन वान’ एकल चित्रकला प्रदर्शनीको तयारी पूरा भएको छ । युवा चित्रकार एल बिक्रम राईले गर्न लागेको सो एकल चित्र प्रदर्शनी स्थानीय नेपाली रेष्टुरेन्ट शुभेच्छा रेष्टुरेन्टमा हुने छ । जुलाई २६ आइतबारमा कार्यक्रमको औपचारिक समुदघाटन गरेर प्रदर्शनीलाई करिब एक महिनासम्म प्रदर्शनीमा राखिने चित्रकार राईले जानकारी दिए ।
‘कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ, चित्रहरूको फ्रेमिङ्ग गर्ने देखि लिएर प्रचारप्रसार गर्ने, कोरियामा क्रियाशिल संघसंस्थाहरुलाई पत्राचार गर्ने काम सबै सकियो अब प्रदर्शनी मात्र बाँकी छ’ राईले टेलीफोनमार्फत बताए ।
प्रदर्शनीमा वाटर कलर र एक्रोलिक कलरको मिश्रणबाट पेन्ट गरिएका करिब ३० वटा चित्रहरु प्रदर्शनीमा राखिने बताइएको छ । राईको एकल प्रयासमा तयार पारिएका ती चित्रहरु प्रदर्शनीको संयोजन शुभेच्छा रेष्टुरेन्टको गरेको छ ।
प्रदर्शनीको नाम ‘थ्री इन वान नै’ किन ? भन्ने प्रश्नमा प्रदर्शन गरिने चित्रकलाले नेपालको चिनारीहरु विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपाल, विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वमै जातीय, धार्मिक, सांस्कृतिक, भाषिक बिविधता भएको देश नेपाल भन्ने सन्देश दिने भएकाले प्रदशनीको नाम ‘थ्री ईन वान’ राखिएको राईले बताए ।
उदयपुर, कटारी-५ स्थाई घर भएका राई करिब २ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा इपिएस प्रणाली मार्फत कोरिया आएका हुन् ।कोरियाको उत्तर याङ्गजुसि शहरमा कार्यरत राईले कम्पनीको कामको बाब्जुत खाली समय निकालेर विभिन्न चित्रकलाहरु पेन्ट गर्ने गरेका छन् ।
राईले नेपालमै रहँदा समेत करिब दर्जन बढि प्रदर्शनीमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् । उनले नेपाल हुँदा आर्ट टिचरको रुपमा समेत गरेको बताईन्छ ।
यस पटक कोरियामा गर्न लागिएको एकल चित्रकला प्रदर्शनी भने चित्रकार राईको पहिलो ‘एकल चित्रकला’ प्रदर्शनी हो । राईले सबै कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चित्रकला प्रदर्शनी अवलोकन गरी सल्लाह, सुझाव र हौसला दिनुहुन समेत अनुरोध गरेको छ ।
















प्रतिक्रिया