गायिका कोमल ओलीको परिचय फरक छ । उनी नायिका हुन्, समाचारवाचिका हुन् । गायनमा अब्बल छिन् । सामाजिक काममा पनि उनको उस्तै परिचय छ । यिनै गायिकाको साउने योजना के छ ? हरिया चुरा, व्रत र अरु साउनसँग जोडिएका विषयमा नयाँ पत्रिकाले उनीसँग गरेको कुराकानीः
हिन्दू नारीहरू साउनमा हरियै बन्ने, मेहन्दी लगाउने भन्छन् । साउन लाग्यो, तपाईंले हरियो चुरा र लुगा लगाउनुभयो ?
हो नि । चलिआएको संस्कार हो । तर, आज मैले भने लगाउन भ्याएको छैन । बिहानैदेखि निकै व्यस्त हुनुपर्यो । घरमा भाउजूले हरियो चुरा किनेर ल्याइदिएकी छिन् रे । मेरी मिल्ने साथीले पनि भोलि चुरा गिफ्ट ल्याइदिन्छु भनेकी छिन् । भोलि नै लगाउने हो ।
हिन्दू नारीहरू साउनमा हरियै बन्ने कारण थाहा छ ?
साउन आयो, हरियो लगाउने भनेपछि त्यसै पनि एउटा ऊर्जा प्राप्त हुँदो रहेछ । यसले सुन्दरता पनि दिन्छ । पछिल्लो समय केहीले फेसनका रूपमा पनि प्रयोग गरेका छन् । खासमा विवाहिताले श्रीमान्को दीर्घायु र र अविवाहिताले सुयोग्य पति पाऊँ भनी साउनमा हरियो चुरा, लुगा र मेहन्दी लगाउँछन् । हिन्दू धर्मग्रन्थले नै यस्तो व्याख्या गरेको छ ।
तपाईंलाई चाहिँ ‘शिव’ चाहिएन अब ?
होइन । नचाहिएर त होइन । शिवको अनुयायी नै हुँ । शिवको आत्मीयता सबैले बुझ्नुपर्छ । आफ्नो शिव खोज्दै छु । तिज पनि आउन लाग्यो ।
यो वर्ष कस्तो गीत निकाल्नुहुन्छ ?
सबैसँग क्षमा माग्छु । यो वर्ष तिजको गीत गाउँदिनँ । भावनात्मक रूपमै यो वर्ष गीत गाउने चाहना छैन । यो वर्ष मेरो समय भूकम्पपीडित दिदीबहिनीप्रति समर्पित गर्न चाहन्छु । धेरै काम गरियो, अझै गर्न बाँकी छ ।
तिजमा व्रत पनि नबस्ने ? किन नबस्ने नि ?
व्रत त बस्छु । गोजीमा गाँठ, मनमा आँट भा’को पाऊँ भनेर शिवसँग आशीर्वाद माग्छु ।
कुनै वर्षको साउन महिना तपाईंका लागि एकदमै खुसी या एकदमै दु:खी भयो ?
त्यस्तो त छैन । सामान्यतया: साउन महिना मन पर्छ । पानी परेको मनपर्छ । मकैका पातमा परेको पानीको आवाजले मेरो मन तान्छ ।















प्रतिक्रिया